आयल निगमले किन्ने तेलको मुल्य बढ्यो

काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले करिब २६ करोड रुपैयाँ नाफा राखेर पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य यथावत राखेको छ । बुधबार भारतीय आयल कर्पोरेसन (आइओसी)बाट तेल खरिदको नयाँ दर बढेर आए पनि निगमको नाफामा ठूलो अन्तर नपरेपछि उपभोक्ता मूल्य समायोजन नगरेको हो । आइओसीले बुधबार पठाएको नयाँ मूल्यसूचीमा अघिल्लो मुल्यको तुलनामा पेट्रोल ३ रुपैयाँ ३८ पैसा, डिजेल ३ रुपैयाँ १९ पैसा, मट्टितेल ४ रुपैयाँ ३४ पैसा र हवाइ इन्धन ४ रुपैयाँ १४ पैसा प्रतिलिटर महँगिएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । त्यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ३५ रुपैयाँ ९५ पैसा महँगिएर आएको उनले बताए । ‘एकातिर अन्तर्राष्ट्रिय बजारमै मूल्य बढ्दा आइओसीबाट निगमले खरिद गर्ने इन्धनको मूल्य बढ्यो । अर्कातिर सरकारले पूर्वँधार कर प्रतिलिटर ५ रुपैयाँ बढाएको छ’ प्रवक्ता घिमिरेले भने । मूल्य बढे पनि निगमलाई १५ दिनमा २५ करोड ९६ लाख रुपैयाँ नाफा हुने उनले जानकारी दिए । निगमले नाफा खुम्चाएर उपभोक्ता मूल्य नबढाएको उनले बताए । यसपटकदेखी निगमले लिएको ऋणको ब्याज भुक्तानीका लागि उपभोक्ताबाट प्रतिलिटर ०.२५ पैसा मात्रै उठाउन थालिएको उनले जानकारी दिए । यसअघि ब्याज तिर्नका लािग उपभोक्ताबाट प्रतिलिटर ०.५० पैसा उठाउने गरिएको थियो । खरिद मुल्य नयाँ मूल्यसूचीपछि निगमले आइओसीको रक्सौल डिपोमा पेट्रोल ४५ रुपैयाँ ४४ पैसा, डिजेल ४४ रुपैयाँ ८३ पैसा र मट्टितेल ४२ रुपैयाँ ८६ पैसामा खरिद गर्न थालेको छ । त्यस्तै हवाइ इन्धन ४१ रुपैयाँ ५५ पैसा र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ८ सय ६६ रुपैयाँ ९२ पैसामा खरिद गर्छ ।