एक लाख भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता

 काठमाडौं, २ असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबारसम्म एक लाख दुई सय ७२ भूकम्पपीडितसँग अनुदान सम्झौता गरेको छ । प्राधिकरणका अनुसार प्रभावित ११ जिल्लामा पाँच लाख ३३ हजार चार सय ५४ परिवार भूकम्पपीडित छन् । चार लाख ३३ हजार एक सय ८२ परिवारसँग अनुदान सम्झौता हुन बाँकी नै छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बाँकी पीडित परिवारसँग पनि द्रुतगतिमा सम्झौता गरिने बताए । प्राधिकरणका अनुसार जिल्लाका सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको हो । स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार सबैभन्दा धेरै रामेछापमा ३५ हजार तीन सय ८० पीडित परिवारसँग अनुदान सम्झौता भएको छ । गोरखामा १७ हजार ६ सय ६८, दोलखामा १६ हजार दुई सय, ओखलढुंगामा १४ हजार दुई सय दुई पीडित परिवारसँग अनुदान सम्झौता भएको छ । त्यस्तै, धादिङमा चार हजार आठ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६ हजार ६ सय ६०, काभ्रेमा १४ सय ७५, सिन्धुलीमा ११ सय र मकवानपुरमा ७५ परिवारसँग अनुदान सम्झौता भएको छ । प्राधिकरणले पहिलो चरणमा दुई लाख अनुदान पाउने पीडित परिवारलाई सूचीमा सामूहिकीकरण गरेको छ । सामूहिकीकरणमा पर्ने एक लाख ७१ हजार ६ सय ७७ घरधनीको खातामा रकम जम्मा गर्ने तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । 

source: nayapatrika