एक लाख मान्छे उतार्ने नयाँ शक्तिको दाबी

काटमाडौं, ३० जेठ । नयाँँ शक्ति नेपालले आइतबार पार्टी स्थापनाको घोषणा गर्दै छ । घोषणासभा र राष्ट्रिय भेलामा एक करोड पाँच लाख खर्च हुने अनुमान गरिएको छ । सभाको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा कुल एक करोड ७६ लाख ६५ हजार ३२३ रुपैयाँ संकलन भएको जानकारी दिइएको छ । चार ठाउाबाट र्‍याली निकालिने बिजुलीबजार, कुपन्डोल, रत्नपार्क  र कालीमाटी गरी चार ठाउँबाट र्‍याली निस्कनेछन् । बिजुलीबजारबाट महेन्द्र पासवान, रत्नपार्कबाट पासाङ शेर्पा, कुपन्डोलबाट हिसिला यमी र कालीमाटीबाट वामदेव क्षेत्रीको नेतृत्वमा ११ बजे सुरु हुने र्‍याली १२ बजेभित्र रंगशालामा पुग्नेछ । दुई गेट, पाँच सय कुर्सी रंगशालामा प्रवेश गर्न अतिथि र सर्वसाधारणका लागि दुई प्रवेशद्वार तय गरिएको छ । आमन्त्रित अतिथि र पत्रकारलाई भिआइपी गेट र अन्यलाई साधारण गेटबाट प्रवेशको व्यवस्था मिलाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए । मञ्चमा अतिथि र पत्रकारका लागि बस्न पाँच सय कुर्सीको व्यवस्था गरिएको छ । दस्तावेज छलफल गर्न दश समूह पार्टी घोषणासभापछि सोमबार र मंगलबार दुई दिन प्रज्ञा भवनमा नयाँँ शक्ति नेपालले प्रतिनिधिको राष्ट्रिय भेला गर्दै छ । करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने भेलामा तीन दस्तावेजमा छलफल हुँदै छ । ‘नयाँ शक्तिका आधारतत्त्व’ शीर्षकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्त र विधान तथा विकास एवं समृद्धिको मार्ग–चित्र शीर्षकका दस्तावेज भेलामा प्रस्तुत हुनेछन् । सहभागीलाई १० समूहमा विभाजन गरी छलफल गरिने भएको छ । छलफलबाट प्राप्त सुझाबसहित अन्तरिम रूपमा लागू गर्ने तयारी छ । यसरी हुनेछ  घोषणा सभाको अध्यक्षता नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गर्नेछन् । अतिथिको आसनग्रहणपछि राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम सुरु हुनेछ । त्यसपछि नयाँ शक्तिका सदस्यले सामूहिक शपथ लिने कार्यक्रम तय भएको प्रवक्ता खिमलाल देवकोटाले बताए । शपथग्रहणको व्यहोरा पनि तयार पारिएको छ । व्यहोरा लेखिएको कागज सबैको हातहातमा पुग्ने गरी पहिले नै उपलब्ध गराइनेछ । विनाउद्घाटन सुरु हुने कार्यक्रमममा शपथग्रहणपछि सीधै अतिथिले शुभकामना दिनेछन् भने डा. भट्टराईले कार्यक्रम समापन गर्नेछन् । राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि निम्तो पार्टी घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीदेखि संवैधानिक अंगका प्रमुखसम्मलाई निम्तो पठाइएको छ । देशभित्रका सबैजसो दल, सांसदलगायत पाँच सयजनालाई अतिथिका रूपमा आमन्त्रण गरिएको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए । नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि पनि आमन्त्रित छन् । भारत, चीनसहित १० देशका राजदूतले उपस्थित हुने वचन दिएको नयाँ शक्तिले जनाएको छ । कार्यक्रममा सहभागी हुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीन्द्र भदोरिया, आनन्दस्वरूप बर्मा काठमाडौं आइसकेका छन्