एक साताभित्र देशभर मनसुन सक्रिय

वीरेन्द्र ओली/नयाँ पत्रिका काठमाडौं, ५ असार यस वर्षको मनसुन एक हप्ताभित्र देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साधारणतया नेपालमा मनसुन १० जुनदेखि सुरु हुने गरे पनि यस वर्ष पाँच दिन ढिला गरी सुरु भएको छ । १५ जुुनदेखि पूर्वी नेपालबाट मनसुन प्रवेश गरिसकेकाले एक हप्ताभित्र देशभर सक्रिय भइसक्ने जल तथा मौसम विभाग पूर्वअनुमान महाशाखाका मौसमविद् समरि श्रेष्ठले जानकारी दिए । मौसमी नक्सा, भूउपग्रहरूबाट प्राप्त बादलका तस्बिरका आधारमा आगामी केही दिनभित्रै मध्य क्षेत्र  हुँदै मनसुनी हावा पश्चिम पुग्ने आँकलन गरिएको श्रेष्ठले जानकारी दिए । ‘अहिले पूर्वी पहाडी र तराईका धेरै ठाउँमा मनसुनी वर्षा भइरहेको छ । मध्य तराई र काठमाडांै आसपासका जिल्लामा पनि मनसुन सक्रिय भइसकेको छ । तर, पश्चिमी तराई र पहाडमा हलुका बादल लागेको छ,’ मौसमविद् श्रेष्ठले भने । नेपालमा मनसुन सामान्यतया: १० जुनदेखि सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ । तर, जलवायु परिवर्तनका कारण मनसुन ढिलो गरी सुरु हुने र ढिलो गरी सकिने गरेको छ । जसका कारण वर्षा मौसममा हुने खेती ढिलो गरी सुरु हुने गरेको छ । नेपालमा वर्षभरि १४ सय मिलिमिटर पानी पर्छ, जसमध्ये ८० प्रतिशत पानी चार महिनाको अवधिमा पर्ने गरेको छ ।