ओली–देउवा भेटवार्ता : नियमावली आजै पारित गर्ने सहमति

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को कार्यसञ्चालन नियमावलीबारे शनिबार छलफल भएको छ । दुई नेताबीच नियमावली व्यवस्थापिका–संसद्बाट आइतबार पारित गर्ने सहमति भएको छ । भेटमा प्रधानमन्त्री ओलीले लामो समयसम्म नियमावली नबनेका कारण महत्त्वपूर्ण कार्यसम्पादन रोकिएकाले मतदान प्रक्रियाबाटै भए पनि नियमावली बनाउनुपर्ने बताएका थिए । जवाफमा कांग्रेस सभापति देउवाले आइतबारै नियमावली टुंग्याउन सकिने भन्दै मतदानअघिसम्म पनि अधिकतम प्रयास गर्न सकिने बताएका थिए । ‘निरन्तर प्रयास भइरहेको छ, भोलि टुंगिन्छ भन्नेमा हामी आशावादी छौँ,’ भेटमा सहभागी एमाले उपनेता सुवास नेम्वाङले भने, ‘ठ्याक्कै यसरी टुंग्याउने भन्ने त छैन, तर कुराकानी धेरै सकारात्मक छ । निरन्तर प्रयास हुँदै आएकाले भोलि (आइतबार) टुंगिन्छ ।’ यसअघि शीर्ष नेताहरूले सहमति नभए मतदानमार्फत टुंग्याउने सहमति गरेका थिए । के छ विवाद ? संसद् कार्यसञ्चालन नियमावली टुंग्याउन २५ असोजमा कांग्रेस सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा ६५ सदस्यीय नियमावली मस्यौदा समिति बनेको थियो । पटक–पटक म्याद थप्दा पनि संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यामा विवाद भएपछि ३२ जेठमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा ६ सदस्यीय संयुक्त कार्यदल बनेको थियो । सत्तारुढ दल १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समिति बनाउनुपर्ने पक्षमा छन् भने प्रमुख प्रतिपक्षी कांग्रेससहितका केही साना दल अन्तरिम संविधानअनुसार ७५ सदस्यीय समिति बनाउनुपर्ने पक्षमा छन् । यही विवादका कारण १ असारको संसद् बैठकमा समिति गठनको कार्यसूचि रहे पनि सहमतिका लागि ५ असारको बैठकमा टुंग्याउने गरी स्थगित भएको थियो । कार्यदल बन्यो पूर्ण बैठक बसेन शीर्ष नेताहरूको सहमतिमा सत्तापक्षबाट एमाले उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल तथा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डे तथा प्रतिपक्षबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेताहरू राधेश्याम अधिकारी र प्रकाशशरण महत रहेको कार्यदल बनेको थियो । तर, कार्यदलको पूर्ण बैठक नै बस्न नसकेको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जानकारी दिए । उनले भने, ‘शनिबार ४ बजे बैठक बस्ने भन्ने थियो, तर महतजी भारत गएकाले शीर्ष नेताबीच नै सहमति खोज्ने भनेपछि पूर्ण बैठक बसेन ।’ यसरी भयो छलफल राज्यव्यवस्था समितिको कार्यकक्षमा शुक्रबार दुवै पक्षबाट कार्यदलका उपलब्ध सदस्यबीच छलफल भएको थियो । समय घर्किन लागेपछि कांग्रेस नेता कृष्ण सिटौलाले शनिबार बिहान एमाले उपनेता नेम्वाङको निवासमा छलफल गरे । त्यसलगत्तै प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएपछि बालुवाटारमा दुई शीर्ष नेताबीच छलफल भएको नेम्वाङले जानकारी दिए । नियमावली अब रोकिन्न : सभामुख सभामुख ओनसरी घर्तीले संसद्को कार्यसञ्चालन नियमावली अब नरोकिने बताएकी छिन् । प्रमुख दलको आग्रहमा अन्तिमपटकका लागि ५ असारसम्म छलफलको कार्यसूची सारिएकाले अब प्रक्रिया रोक्न नसक्ने घर्तीको भनाइ छ । ‘अब नियमावलीको प्रक्रिया रोकिँदैन,’ सभामुख घर्तीले नयाँ पत्रिकासँग भनिन्, ‘दलहरूलाई पटक–पटक सहमतिका लागि समय दिइएकै हो, उहाँहरूले अन्तिमपटक ५ असारसम्मको समय माग गरेका आधारमा समय दिइएको हो, अब भने सहमति नभए प्रक्रियामा गएर भए पनि टुंगिन्छ ।’ नौ महिनादेखिको प्रयासमा पनि नियमावलीमा सहमति हुन सकेको छैन । नियमावली नबन्दा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, सर्वाेच्च अदालतका ११ स्थायी न्यायाधीशको नियुक्ति, निर्वाचन आयोगका प्रमुख आयुक्तको नियुक्तिदेखि विभिन्न २१ देशका राजदूत नियुक्ति प्रक्रिया अलपत्र छ ।