कर्मचारी निर्वाचन एमाले संगठन पहिलो

काठमाडौँ २१ जेठ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले देशभर भएको निर्वाचनको अन्तिम परिणाम बिहीबार सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार मन्त्रालय, विभाग र जिल्लास्तरीय गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले ८० स्थानमा विजयी हासिल गरेको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)ले २७ स्थानमा, मधेसी दलनिकट नेपाल मधेसी निजामती मञ्चले सात जिल्लामा र माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले दुई स्थानमा पहिलो स्थान ल्याएर विजयी भएका छन् । १५ सय मत बदर प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाता संख्या ५५ हजार तीन सय २९ रहेकोमा ४९ हजार ९५ मत खसेको थियो । खसेको मतमध्ये एक हजार चार सय ९९ सय मत बदर भएको थियो । खसेको मतमध्ये एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले २१ हजार एक सय २७ मत प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको हो । जुन ४४ दशमलव ३९ प्रतिशत हो । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)ले १६ हजार दुई सय ५९ मत प्राप्त गरेको छ, जुन ३४ दशमलव १६ प्रतिशत हो । यसैगरी, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले पाँच हजार २९ मत ल्याएको छ । जुन १० दशमलव ५७ प्रतिशत हो । मधेसी दलनिकट मधेसी मञ्चले तीन हजार पाँच सय ६१ मत प्राप्त गरेको छ, जुन ७ दशमलव ४८ प्रतिशत हो । कार्यालय सहयोगीहरूको संगठन राष्ट्रिय स्वतन्त्र मिलन केन्द्रले एक हजार पाँच सय २९ मत ल्याएको छ । तीनवटा कर्मचारी युनियन मात्रै आधिकारिक कार्यालयका अनुसार आधिकारिक ट्रेड युनियनको केन्द्रीय नेतृत्वमा भागबन्डामा सहभागी हुन निर्वाचनमा भाग लिएका संगठनहरूले खसेको मतको १० प्रतिशत मत (थ्रेसहोल्ड) ल्याउनुपर्ने कानुनी प्रावधान छ । तर, निर्वाचनमा सहभागी भएका ६ मध्ये तीन संगठनले मात्रै थ्रेसहोल्ड कटाएका छन् । अब आधिकारिक ट्रेड युनियनमा थ्रेसहोल्ड कटाएका नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठनले मात्रै केन्द्रीय नेतृत्वमा सहभागिता जनाउनेछन् । एमाले कर्मचारी संगठनलाई अध्यक्ष र कोषाध्यक्ष प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा बढी मत ल्याउने निजामती कर्मचारी संगठनले पदाधिकारीमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ । दोस्रो स्थानमा रहेको युनियनले महासचिव पाउनेछ भने तेस्रो स्थान ल्याउने राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले उपाध्यक्ष पाउनेछ। मधेसी मञ्चले पदाधिकारी पद नपाउने मधेसी निजामती मञ्चले थ्रेसहोल्ड कटाउन नसकेकाले केन्द्रका कुनै पनि पद नपाउने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चौथो स्थान ल्याउने मधेसी मञ्चले थ्रेसहोल्ड कटाउन नसकेकाले सचिव पद अब पहिलो स्थान ल्याउने निजामती कर्मचारी संगठनले नै पाउनेछ । कार्यालयका अनुसार बाँकी १६ सदस्य पद प्राप्त मतका आधारमा समानुपातिक रूपमा वितरण गरिनेछ । समानुपातिक रूपमा वितरण हुँदा सबैभन्दा बढी मत ल्याउने नेपाल निजामती कर्मचारी संगठनले आठ सदस्य पद पाउनेछ भने दोस्रो स्थानमा आएको युनियन (संघ)ले ६ र राष्ट्रिय कर्मचारी संगठनले दुई सदस्य पद पाउनेछन् । पदाधिकारी तथा सदस्यको नाम मागिने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विजेता संगठनहरूलाई पत्र पठाउँदै संगठनले पाएको पदमा प्रतिनिधित्व गर्ने व्यक्तिको नाम मागिने जनाएको छ । परिणाम सार्वजनिक भएको १५ दिनभित्र विजेता संगठनले उम्मेदवारको नाम कार्यसमितिको बहुमतबाट पारित गराएर प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्नेछ । यसरी नाम प्राप्त भएपछि प्रमुख निर्वाचन अधिकृतले आधिकारिक ट्रेड युनियनको पदाधिकारी तथा सदस्यको नामावली घोषणा गरी त्यसबारे जानकारी श्रम विभाग, सबै ट्रेड युनियन र सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्ने कानुनी प्रावधान छ ।

source: सागर पण्डित/नयाँ पत्रिका