कांग्रेसको विरोध मिलेर सामना गर्छौ’

काठमाडौँ, १७ जेठ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसदमा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको भन्दै कार्यान्वयनको विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो । सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा कडा विरोध जनाउँदै आएको छ । बजेटमाथि आजदेखि छलफल शुरु हुने भनिए पनि कांग्रेसकै कारण दुइ पटकसम्म बैठक अबरुद्ध बनेको छ । ‘प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उहाँहरुबीच कुरा भयो’, उनले भने । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्ष निकालेको थियो ।रासस