चुनावको मिति र संशोधन छिट्टै: प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले अब छिट्टै संविधान संशोधनको प्रक्रियालाई टुंगोमा पुर्याउने बताएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षसँग निर्वाचनको मिति घोषणा गर्ने समझदारी गरेको भनिएको भोलीपल्ट प्रधानमन्त्रीले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

नेकपा एमालेका एकजना वरिष्ठ नेताले पनि स्थानीय निर्वाचनको मिति घोषणा गरिए संशोधन प्रक्रियाबारे सहमति खोज्न सकिने भन्दै लचिलो हुने संकेत गरेका छन्।

प्रचण्डले विगतमा एमालेसँग चुनावमा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग संशोधनमा जोड दिने गरेका थिए।

प्रतिबद्धता

तर शनिवारको उनको भनाईले सरकार दुबै विषयलाई संगसंगै जसो अघि बढाउने मनस्थितिमा रहेको संकेत दिन्छ। 

रौतहटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, "अब छिट्टै संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्याउने र सबै क्षेत्र-समुदायको सहमतिमा स्थानीय तहको निर्वाचनमा जाने सरकारको प्रतिबद्धता छ।"

लामो संवादहीनता तोड्दै प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भएको थियो।

कतै एमालेको आश्वासनका कारण, कयौं सातादेखि संसदमा रोकिएको संशोधनलाई टुंगोमा पुर्याउने आत्मविश्वास प्रधानमन्त्रीमा देखिएको त हैन?

एमाले तयार

दुई पार्टीका प्रमुखबीचको छलफलमा सहभागि एमाले उपाध्यक्ष भीम रावलले भने, "यदि चुनावको मिति घोषणा गर्ने हो भने, देशको परिस्थिति र राष्ट्रियहीतलाई ध्यानमा राखेर सबैको साझा बन्दू खोज्न हामी सबैसँग छलफल गर्न तयार छौं।"

विगतमा संविधान संशोधन छलफलमै ल्याउन नदिने अडानमा देखिएको एमालेले चुनाव गराउने शर्तमा संशोधनको प्रक्रियामा सहमति खोज्न तयार भएको देखिन्छ।

तर मधेशी मोर्चाले संशोधन पारित भए पनि नभए पनि चुनावमा सहभागि हुने वचन प्रधानमन्त्रीलाई दिइसकेको छैन्।

बरु उसले आफू चुनावमा सहभागि हुन परिमार्जन सहित संविधान संशोधन प्रस्ताव अनिवार्य रुपमा पारित हुनु पर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्दै आएको छ।

प्रधानमन्त्रीले सकेसम्म संविधान संशोधनमै नत्र त्यसलाई निष्कर्षमा पुर्याउन प्रक्रियामा सहमत हुन एमालेलाई आग्रह गर्दै आएका थिए।