डेढ वर्षभित्र तीनवटै निर्वाचन : प्रधानमन्त्री

काठमाडौं, २ असार प्रधानमन्त्री केपी ओलीले आगामी डेढ वर्षभित्र सबै प्रकारका निर्वाचन गर्ने दाबी गरेका छन् । ओलीले ०७४ कात्तिक–मंसिरभित्रै स्थानीय, प्रान्तीय र संघीय निर्वाचन गर्ने तयारीमा सरकार जुटेको बताएका छन् । लोकसेवा आयोगको ६६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तीनै तहका निर्वाचनको मितिसमेत प्रस्ताव गरेका छन् । उनले आगामी मंसिरमा स्थानीय, ०७४ वैशाख–जेठमा प्रादेशिक र ०७४ कात्तिक–मंसिरसम्म प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सरकारले तयारी थालेको बताए । संविधान कार्यान्वयन गर्न ७ माघ ०७४ भित्र सबै तहका निर्वाचन गरिसक्नुपर्नेछ । संविधानको स्प्रिटअनुसार नै सबै प्रकारका निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘संविधान कार्यान्वयन गर्न आएको सरकारले संविधानको स्पिरिटअनुसार नै तीनै तहको निर्वाचन गराउनेछ,’ ओलीले भने, ‘यसका लागि आवश्यक तयारीसमेत थालिएको छ ।’ निर्वाचन गराउन विभिन्न विघ्न–बाधा देखिए पनि त्यसलाई चिर्दै सरकारले निर्वाचन गराउने ओलीको प्रतिबद्धता छ । स्थानीय निकायको पुनर्संरचना गर्न बालानन्द पौडेलको संयोजकत्वमा आयोग गठन भएको थियो । आयोगले आगामी फागुनसम्म मात्रै प्रतिवेदन दिने जनाएको छ । आयोगले प्रतिवेदन दिनुअघि मंसिरमा स्थानीय निकायको निर्वाचन कठिन छ । हालकै विद्यमान संरचनाअनुसार निर्वाचन गर्ने कि गाउँपालिकाको संरचना बनाएर निर्वाचन गर्ने भन्नेमा प्रधानमन्त्रीले स्पष्ट पारेका छैनन् । निष्पक्ष हुन आयोगलाई आग्रह प्रधानमन्त्री केपी ओलीले लोकसेवा आयोग संवैधानिक अधिकारसहितको स्वतन्त्र र निष्पक्ष भूमिकामा रहेकाले कतैबाट निर्देशित र नियन्त्रित नभई काम गर्न अडिग रहनुपर्ने बताए । संवैधानिक निकायको महत्त्व र भूमिका उचो राख्न आफू र आफ्नो दलबाट आयोगलाई कहिल्यै कुनै प्रकारको हस्तक्षेप नहुने उनको भनाइ छ । आयोगलाई आधुनिक र प्रविधियुक्त बनाउन सरकारले सहयोग गर्ने पनि उनले आश्वासन दिए । नियमावली नबनेकोमा प्रधानमन्त्री असन्तुष्ट संविधान जारी भएको नौ महिना पुगिसक्दासमेत संसद्को नियमावली नबनेकोमा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाए । नियमावली नबन्दा राज्य सञ्चालन प्रक्रियामा विभिन्न किसिमका अवरोध भएको उनले स्पष्ट पारे । यस्ता गतिविधिले सिंगो राज्य संयन्त्र नै असफल हुनसक्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ छ । ‘यो सरकार राजनीतिक संक्रमण व्यवस्थापन गर्न आएकाले सबैले सहयोग गर्नुपर्छ,’ उनले भने । जटिल र संक्रमणकालीन अवस्थामा सरकार असफल पार्छु भनेर लागेमा सिंगो मुलुक नै असफल हुनेतर्फ सचेत हुनुपर्ने ओलीले बताए । उनले भने, ‘सबै मिलेर संक्रमणकालको उचित व्यवस्थापन गर्नु नै मुलुकको सर्वोपरी हित हो ।’ आयोग निष्पक्षताको मियो : राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ वर्षे इतिहासले लोकसेवा आयोगलाई निष्पक्षताको मियोका रूपमा चिनाएको बताएकी छिन् । संविधानमा आयोगको कार्यक्षेत्र थप विस्तार गरिएको उल्लेख गर्दै भण्डारीले संघीयतामा आर्थिक–सामाजिक रूपान्तरणसहितको न्यायपूर्ण सशक्त र समृद्ध नेपाल निर्माण गर्न सक्ने योग्य कर्मचारी छनोट गर्न आयोग सफल हुने विश्वास व्यक्त गरिन् । आयोगलाई सक्षम र सबल बनाउन सरकारले सबै प्रकारका सहयोग गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय निकायको निर्वाचनका लागि भदौ भित्रै ऐन प्रधानमन्त्री ओलीले आगामी मंसिरभित्र स्थानीय तहको निर्वाचन गर्न आवश्यक ऐन–नियम भदौ महिनाभित्रै बनाउने पनि बताए । ऐन बनाउने गृहकार्य भइरहेको उनको भनाइ छ । मुलुकमा निर्वाचन हुन नदिएर अस्थिरता मच्चाउने तत्त्वहरू सक्रिय रहेको र त्यस्ता तत्त्वसँग सरकार सचेत र सतर्क रहेको पनि ओलीले बताए । अस्थिरता मच्चाउन खोज्ने सबै तत्त्वलाई असफल पार्दै सरकार आफ्नो गन्तव्यमा पुगेरै छाड्ने ओलीको अठोट छ ।