दुई दर्जन नक्कली चिकित्सक पक्राउ

नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकैदिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेसन चलाएर दुई दर्जनभन्दा बढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान सकिएपछि मात्र पक्राउ परेका चिकित्सकबारे विवरण सार्वजनिक गरिने जनाएको छ । पक्राउ परेकाले भारतीय कलेजबाट आइएस्सी उत्तीर्ण शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए । तर, उनीहरूको सर्टिफिकेट नक्कली भएको पुष्टि भएपछि सिआइबीले एकैपटक पक्राउ गरेको हो । सिआइबीले भारतमा आइएस्सी पढेका चिकित्सहरूको सर्टिफिकेट लिएर गत महिना भारतका विभिन्न कलेजमा गई त्यसको आधिकारिता परीक्षण गरेको थियो । तीन हजार सर्टिफिकेट नक्कली नक्कली प्रमाणपत्र भएकाको सूची बनाई सिआइबीले अपरेसन चलाएको हो । यसअघि सिआइबीले १७ जना नक्कली चिकित्सकलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । सिआइबी अनुसन्धानमा १७ हजारमध्ये करिब तीन हजारको विभिन्न तहको सर्टिफिकेट नक्कली रहेको खुलिसकेको छ । वीरगन्जमा नौजना पक्राउ सिआइबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले पर्सा प्रहरीको सहयोगमा नौजना चिकित्सकलाई उनीहरू कार्यरत अस्पताल र क्लिनिकबाट शुक्रबार पक्राउ गरेको हो । शुक्रबार बिहान ९ बजेबाट सुरु गरेर प्रहरीले उनीहरू कार्यरत अस्पतालबाट दिउँसो १ बजेसम्म सबै डाक्टरलाई पक्राउ गरेर काठमाडौं लगेको हो । आइएस्सीको प्रमाणपत्र नक्कली रहेको आरोप मेडिकल शिक्षा एमबिबिएस पढ्दा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सिआइबीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । ‘एमबिबिएस पढ्दा आइएस्सीको प्रमाणपत्र नक्कली बनाएको पाइएकाले पक्राउ गरिएको हो,’ स्रोतले भन्यो । वीरगन्जका चिकित्सक आन्दोलनमा डाक्टरलाई पक्राउ गरेको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक शुक्रबार दिउँसोदेखि हडतालमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ पर्साको आह्वानमा वीरगन्जका सरकारी तथा निजी अस्पताल, नर्सिङहोम र क्लिनिकका डाक्टरहरू काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजको आकस्मिक उपचार कक्षबाहेक अरू सबै शाखामा कार्यरत चिकित्सकका साथै निजी अस्पताल, नर्सिङहोम, क्लिनिकमा काम ठप्प छ । डाक्टरहरू हडतालमा उत्रिएका कारण बिरामी र सेवाग्राही मर्कामा परेका छन् । वीरगन्जका औषधिपसलसमेत बन्द गरिएको छ । अपहरणकारीको शैलीमा लगिएको आरोप आन्दोलित चिकित्सकहरूले डाक्टहरूलाई सिआइबी टोलीले अपहरणकारीको शैलीमा पक्रेर लगेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डा. रवीन्द्र सिंहले प्रहरीले गुन्डागर्दी शैलीमा चिकित्सकहरूलाई अस्पताल परिसरबाटै पक्रेर लगेकाले विरोध गरिएको बताए । ‘हाम्रा चिकित्सक साथीहरू अस्पतालको अपरेसन थियटर, आकस्मिक कक्ष र क्लिनिकमा बिरामीहरूको उपचार गरिरहेकै अवस्थामा सिआइबीले नाटकीय ढंगबाट पक्राउ गरेको छ,’ सिंहले भने । प्रहरीले किन, केका लागि पक्रेको हो र पक्रेर कहाँ लग्यो भन्नेबारेमा समेत जानकारी नदिएको उनाले भनाइ छ । ‘हाम्रा चिकित्सक साथीलाई किन पक्राउ गरियो, कहाँ लगियो केही बताइएको छैन,’ सिंहले भने । विराटनगरमा चर्चित डाक्टरहरू नै नक्कली विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो । सिआइबी टोलीले विराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा. जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । यसअघि कोसी अञ्चल अस्पतालबाट तुलसीकुमार महतो र गोल्डेन अस्पतालबाट कमरुल हक पक्राउ परेका थिए । विराटनगरको गोल्डेन, लाइफगार्ड निजीस्तरका नाम चलेका अस्पताल हुन् । कोसी क्षेत्रीयस्तरको सरकारी अस्पताल हो । एसएलसी अध्ययन गरेका पनि डाक्टर सिआइबीले पक्राउ गरेका नक्कली डाक्टरहरू धेरैजसो भारतीय कलेजबाट नक्कली प्रमाणपत्र लिएकाहरू छन् । उनीहरूमध्ये प्राय:ले प्रमाणपत्र तह र केहीले एसएलसीसम्म मात्र पढेको पाइएको छ । उपचारमा शोषण भइरहेको सूचनापछि अभियान सुरु नाम चलेका अस्पतालमा किर्ते सर्टिफिकेटका आधारमा आफूलाई ‘नामी’ डाक्टर बताएर बिरामीको उपचारमा शोषण भइरहेको सूचना प्राप्त भएपछि नक्कली डाक्टर पक्राउ अभियान थालेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए । सिआइबीले नक्कली डाक्टरहरू पक्राउ गर्न नेपाल मेडिकल काउन्सिल र उच्च माविको सहयोग लिइरहेको छ । चितवनमा तीन पक्राउ सिआइबीले शुक्रबार नै चितवनमा पनि तीनजनालाई पक्राउ गरेको छ । कलेज अफ मेडिकल साइन्सका राजन पुरी, रजनी अग्रवाल र सुनील आचार्य पक्राउ परेका हुन् । आचार्यले भरतपुर अस्पतालमा समेत काम गर्दै आएका थिए । तराईका अन्य जिल्लामा पनि अपरेसन चलाइएकाले थप अनुसन्धानपछि नाम सार्वजनिक गरिने सिआइबीले जनाएको छ । यसअघि को कहाँबाट पक्राउ परेका थिए ? सिआइबीले झापा बिर्तामोडस्थित बिएनसी मेडिकल अस्पतालबाट रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीबाट पशुपति चौधरी, ग्लोबल अस्पताल मिर्चैयाबाट मोहम्मद अहमद सिद्दिकी, जनकपुर अञ्चल अस्पतालबाट सन्तोषकुमार यादव, चानसी मेडिकल हल जनकपुरबाट कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतपुरबाट विनीत यादव, अजित मेडिकल हल जनकपुरबाट भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरबाट शेलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक तौलिहवाबाट अफजल हुसैन र ग्लोबल अस्पताल ग्वार्को ललितपुरबाट श्यामबाबु साहलाई पक्राउ गरेको थियो । यी डाक्टरहरूले आफूलाई नाम चलेको मेडिकल कलेजबाट चिकित्सकको उपाधि पाएको भन्दै विशेष बनेर बिरामीको उपचार गर्दै आएका थिए । संखुवासभाको चैनुपरमा कक्षा ८ मात्रै पढेका प्रभास पासवान नामका नक्कली डाक्टर पक्राउ परेका छन् । को–को पक्राउ परे ? १. डा. सरोज सिंह, अर्थोपेडिक सर्जन, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज २. डा. कुशराज गिरी, बालरोग विशेषज्ञ, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ३. डा. पन्नालाल पटेल, बालरोग विशेषज्ञ, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ४. डा. मोहम्मद रहुल्ला खान, अर्थोपेडिक सर्जन, नेसनल मेडिकल कलेज वीरगन्ज ५. डा. इश्रादुल हक, सिनियर मेडिकल अधिकृत, नेसनल मेडिकल कलेज वीरगन्ज ६. डा. निमिष रमनपाल, एनेसथेसिया विशेषज्ञ, नेसनल मेडिकल कलेज ७. डा. रामकुमार प्रधान, नाक, कान, घाँटी रोग विशेषज्ञ, नेसनल मेडिकल कलेज वीरगन्ज ८. डा. दिनेश साह, नाक, कान, घाँटी रोग विशेषज्ञ, निजी क्लिनिक, वीरगन्ज ९. डा. अरुणकुमार गुप्ता, बाथरोग विशेषज्ञ, नर्भिक अस्पताल काठमाडौं, वीरगन्ज निजी क्लिनक १०. डा. जाबेद अख्तर, लाइफगार्ड अस्पताल विराटनगर ११. डा. सञ्जयकुमार दास, क्लिनिक सञ्चालक, विराटनगर १२. डा. अमिर कलाम, क्लिनिक सञ्चालक १३ डा. राजन पुरी, कलेज अफ मेडिकल साइन्स चितवन १४. डा. रजनी अग्रवाल, कलेज अफ मेडिकल साइन्स चितवन १५. डा. सुनील आचार्य, कलेज अफ मेडिकल साइन्स चितवन चर्चित डाक्टरहरू नै नक्कली विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो । सिआइबी टोलीले विराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा. जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।