नेपाल पत्रकार महासंघ युकेले पत्रकारिता तालिमकाे अायाेजना

युकेस्थित नेपाली समुदायका अगुवाहरूसित गत जुन ५ मा गरिएकाे अन्तर्क्रियामा प्राप्त सुझावलाई अात्मसात गर्दै युकेमा कार्यरत नेपाली पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्ने, पेशागत मर्यादा मजबुत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेले पत्रकारिता तालिमकाे अायाेजना गरेकाे छ।  बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । 

शाखाले शनिबार लण्डनमा आयोजना गरेको सो तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट पत्रकारितामा विद्यावारिधि गरेका डा. नरेशचन्द्र राईले तयार गरेको इन्भेष्टिगेटिभ जर्नलिज्मसम्बन्धी सामग्री बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रस्तुत गरेका थिए भने क्यानाडाको ओटावा युनिभर्सिटीबाट जर्नलिज्म इथिक्समा विद्यावारिधि गरिरहेका भानुभक्त आचार्यले जर्नलिज्म इथिक्सका बारेमा तालिम दिएका थिए । 
तालिममा युकेका विभिन्न मिडियामा काम गरिरहेका ३३ पत्रकारहरुको उपस्थिति रहेको थियो । 
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले बेलायतमा नेपाली पत्रकारहरुको सीप र क्षमता विकास गरी समुदायको अपेक्षा पूरा गर्न तालिम आयोजना गरिएको बताए । 
महासचिव लीलामान शेरपुन्जाले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष ध्रुव अर्यालले स्वागत गरेका थिए । सोही कार्यक्रममा बेलायतबाट नेपाल फर्कन लागेको शाखाका पूर्व कोषाध्यक्ष देवी गौतमलाई अध्यक्ष खपाङ्गीमगरले खादा ओढाइ बिदाइ गरेका थिए । गौतमले नेपाल फर्केर पुनः पूर्णकालिन पत्रकारितामा लाग्ने बताए । 
कार्यक्रममा प्रशिक्षक भानुभक्त आचार्यले उनले लेखेको ग्लोसरी अफ जर्नलिज्म र आमसंचार र पत्रकारिता अध्ययन नामक दुई पुस्तक शाखाका अध्यक्ष खपाङ्गीमगरलाई हस्तान्तरण गरे ।