नेपाल भुटानजस्तै होस् : भाजपा नेता कोस्यारी

भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोस्यारीले भुटानसँग तुलना गर्दै नेपाल पनि भुटानजस्तै होस् भन्ने भारतको चाहना रहेको बताएका छन् । सोमवार शुरु भएको नेपाल भारत सम्बन्धका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) वैठकमा बोल्दै नेता कोस्यारीले यस्तो बताएका हुन् ।
‘हामी चाहन्छौँ, भारत सरकार र स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीजी चाहनुहुन्छ कि नेपाल भारत भन्दा पनि पहिलो खुशी होस् । ग्रस नेशनल ह्यापिनेसमा नेपाल भारतभन्दा पहिला होस् । भुटान संसारको खुशी मुलुक भएको छ । हामी भुटान भएजजस्तै नेपाल खुशी होस् भन्ने चाहन्छौँ’ वैठकको उद्घाटन शत्रमा कोस्यारीले भने । उनी इपीजीमा भारततर्पmका सहसंयोजक हुन् ।

Bhagat, Kamal and Dr Bhesh

फोटो : अमुल थापा

कोस्यारीले नेपाल भारत सम्बन्ध निरन्तर नदीबगेजस्तै रहेको भन्दै अब सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । नेपालसँगको सम्बन्ध भारतका सबै सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाई थियो ।
‘भारत सरकार (चाहे त्यो जुनसुकै पार्टीको शासन होस्) निरन्तर नेपालसँगको सम्बन्ध सुदृढ हुनुपर्छ भन्नेपक्षमा छ’ कोस्यारीले भने, ‘हर सरकार नेपालसँगको सम्बन्ध बलियो बनाउन चाहन्छन् । जसरी कोशी, काली कर्णाली निरन्तर बगिरहेका छन् । नेपालबाट भारततिर बगिरहेका छन् । हाम्रो सम्बन्ध पनि नदीजस्तै छ । निरन्तर प्रबाह भइरहनुपर्छ । ’
भारत नेपाल सम्बन्ध शास्वत रहेको भन्दै कोस्यारीले दुवै मुलुकको एउटै रक्त समूह रहेको विश्लेषण गरे । ‘ म रोटीबेटीको सम्बन्ध भनेर सीमित गर्न चाहन्न । हाम्रो ब्लडग्रुप (रक्त समूह) उही छ ’ उनले भने । धार्मिक मठमा नेपाल र भारतका जनताको समान अधिकार रहेको तर राजनीतिक संस्थामा त्यो लागू नहुने पनि उनको भनाई थियो ।
‘पशुपतिनाथमा निलाम्बर आचार्यजीको जति अधिकार छ, मेरो पनि उत्तिकै छ । बद्रीनाथमा जति अधिकार भगतसिंहको छ, त्यति अधिकार निलाम्बरजीको छ । तर सिंहदरबारमा जति अधिकार निलाम्बरजीको छ, त्यति मेरो पनि छ भनियो भने सम्बन्धमा गडबड आइहाल्छ ’ कोस्यारीले भने ।