पूर्वमा बाढीले हजारौँ घर डुबानमा

सुनसरीको बुढीखोलामा आएको बाढीले बस्ती कटान गरेपछि सात घर विस्थापित, २० भन्दा धेरै परिवार जोखिममा । खोलाले यसअघि १० घर बगाइसक्यो । दुईतिरबाट बाढी पसेपछि सप्तरीको सकरपुरास्थित दलित बस्तीका ६० परिवार बाढीमै थुनिएका छन् । सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले बाढीमा फसेकाको उद्धार भइरहेको बताए । बाढीले सप्तरीका दर्जनभन्दा बढी गाविसका करिब एक हजार घर भत्किएको छ । झापाको गेउरिया खोलामा आएको बाढीमा डुबेर एकको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन् । एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । मेची नदीमा आएको बाढीले नदी आसपास बसोबास भएका एक सयभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । विराटनगर उपमहानगरपालिका र आसपासका गाउँ जलमग्न बनेका छन । विराटनगर–१६ बखरी टोलमा बस्दै आएका २५ परिवार ऋषिदेव समुदाय विस्थापित भएका छन् । -