बजेट चुहावटबारे छानविन गर्न विषेश समिति गठन

काठमाडौं, १८ जेठ । कांग्रेसले बजेट पहिल्यै लिक भएको भन्दै संसद चल्न नदिएपछि बजेटबारे छानविनको लागि संसदीय विषेश समितिको गठन भएको छ । बजेटबारे छानविनको लागि कांग्रेस सभाषद् रमेश लेखकको संयोजकत्वमा ८ सदस्यीय संसदीय विषेश समितिको गठन भएको हो । तीन महिना १५ दिनभित्र बजेट चुहावटबारे छानविन गर्नको लागि उक्त समिति गठन भएको हो । उक्त समिति गठनपछि आजबाट संसद सुचारु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते नयाँ आवका लागि नयाँ बजेट संसदमा पेस गरेका थिए । बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेटको केही अंश चुुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको सो माग पूरा गर्न सत्तारुढ दलहरु सहमत भएका हुन् । व्यवस्थापिका–संसदको आजको बैठकले नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०७० को नियम ११६ अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको हो । सो प्रस्तावलाई नेकाका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गरेका थिए । समितिको कार्यक्षेत्रमा व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुपूर्व नै राजस्व र व्ययको वार्षिक अनुमान अन्तरनिहीत कतिपय तथ्याङ्क सार्वजनिक भएको सम्बन्धमा सदनमा उठाइएका प्रश्नहरुमाथि दृष्टिगत गरी सो सम्बन्धमा वास्तविकता पत्ता लगाई प्रतिवेदन पेस गर्ने र विगतमा यस सम्बन्धमा भए गरेका विषय समेतलाई अध्ययन गरी सुझाव दिने भनिएको छ ।