बेलायतको पार्लियामेन्ट अगाडि बुद्द जयन्ति

 बेलायतको संसद भवन अगाडि ‘पार्लियामेन्ट स्क्वायर’मा शुक्रबार साँझ भव्यरुपमा बुद्ध जयन्ती मनाइएको छ ।

शुक्रबार साँझ ५:३० देखि ८:०० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा आयोजना गरिएको बुद्ध जयन्तीको विशेष कार्यक्रममा नेपाली राजदूतावास बेलायत, बेलायती सांसदहरु, विभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

बुद्ध जयन्तीका लागि करिब ६ दर्जन नेपाली संघसंस्थाहरु र एक दर्जन भन्दा बढी बेलायतबाट सञ्चालित सञ्चार माध्यमहरुले ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा, नेपाली राजदुतावासका प्रतिनिधि, बेलायती सांसद वीरेन्द्र शर्मा, सांसद सीमा मलहोत्रा, कान्सिलरलगायत बुद्ध धर्म गुरु लामा पाल्देन तामाङ, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गर्नुभएको थियो ।