बोइङ खरिद गर्न भवन भट्टलाई ४५ दिने म्याद

नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ ७५७ खरिदका लागि बीबी एयरवेजलाई ४५ दिने म्याद दिएको छ । यो समयमा जहाज खरिदको लागि सबै रकम बुझाउनु पर्नेछ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजले असोज अन्तिम साता बोइङ खरिदका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख बुझाएको थियो ।

तर, लामो समय खरिद सम्झौता गर्न आनाकानी गरेपछि निगमले एक हप्ते म्याद दिँदै सार्वजनिक सूचना निकाल्यो । नियम र एयरवेजबीच गत मंगलबार खरिद सम्झौता भएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भने, ‘खरिद सम्झौता अनुसार अब ४५ दिन भित्रमा बाँकी रकम बुझाउनु पर्छ ।’

निगमले बीबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गर्न लागेको छ । यसमध्ये १० प्रतिशत अर्थात एक करोड ५० लाख अग्रिम भुक्तानी दिइएको छ । अब बीबी एयरवेजले १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि वायु सेवा निगम बोइङ ७५७ बेच्ने निर्णयमा पुगेको थियो । यो विमान सञ्चालनमा ल्याउनका लागिमात्र झण्डै ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

निगमले सन् १९८७ मा खरिद गरेको यो विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् । एक उच्च अधिकारीले भने, ‘अब यात्रु बोक्नका लाग यो विमान उचित हुँदैन । यसलाई मर्मत गरेर कार्गाेको रुपमा प्रयोग गर्न सकिन्छ ।’

विमान १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको सुरुअाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बेचेको छ ।