महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ । उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा डा. लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोल्ने र ‘चिन्नुभयो ? भन्दा टाउको हल्लाउने’ अवस्थामा पुगेको बताए । आवश्यक औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा जोशीले भने, “यही अवस्था रहिरहे एक-दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनुहुन्छ ।” डा जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए आज साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने जानकारी दिए । “तर हामी हतार गर्दैनौँ”, उनले भने ।