यही वर्षभित्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण

उपराष्ट्रपति नन्दकिशोर पुनले चीन र नेपालको सम्बन्ध नङ र मासुजस्तै भएको बताएका छन् । चीन–दक्षिण एसियाली एक्स्पो तथा व्यापार मेलालाई आइतबार सम्बोधन गर्दै उनले नेपाल चीनबीचको सम्बन्ध अद्वितीय र बहुआयामिक भएको बताए । ‘दुई देशबीचको सम्बन्ध नङ र मासुको सम्बन्धजस्तै बन्दै छ भन्दा फरक पर्दैन । यो सम्बन्धलाई नेपाल अझै उचाइमा पुर्‍याउन चाहन्छ । मलाई विश्वास छ, चीन पनि त्यही चाहन्छ,’ पुनले भने । उपराष्ट्रपतिद्वारा भृकुटी–अरनिकोको स्मरण उपराष्ट्रपति पुनले चीन र नेपाल सम्बन्ध मजबुत पार्न योगदान दिने भृकुटी, अरनिको, मञ्जुश्री, ह्वेन साङ तथा फा स्यानको स्मरण गरे । उनले दुई देशका जनताबीच आपसी सम्मान, सद्भाव र भ्रातृत्वमा आधारित भएको उल्लेख गर्दै गत वर्षको भूकम्पमा नेपालीलाई चीन सरकार र जनताबाट प्राप्त सहयोगले त्यसको पुष्टि गरेको बताए । ‘वान बेल्ट वान रोड’ अभियानलाई पूर्ण सहयोग एनले ‘वान बेल्ट वान रोड’ अभियानलाई नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अबको दिनमा प्राचीन रेशममार्ग आधुनिक स्वरूपमा पुनर्जीवित भई पारस्परिक हितका अवसर वृद्धि भई नेपाल र चीन मात्र होइन, समस्त क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा गरेका छौँ,’ उपराष्ट्रपति पुनले भने । छिमेकी मुलुकविरुद्ध गतिविधिको छुट दिइन्न उपराष्ट्रपति पुनले नेपाल छिमेकी मुलुकहरूको सुरक्षा संवेदनशीलताप्रति सचेत र गम्भीर भएको बताए । एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको नेपाल सरकारले आफ्नो मुलुकमा छिमेकी मुलुकविरुद्ध गतिविधि गर्न कसैलाई छुट नदिने उनको भनाइ थियो । नेपालका प्रधानमन्त्री केपी ओलीले केही महिनाअघि गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरेको उनले बताए । मित्रराष्ट्रहरूसँग सहकार्य चाहेका छौँ उनले अबको युगमा कुनै पनि मुलुकले आफ्नो एक्लो प्रयासबाट मात्रै समृद्धिको लक्ष्य प्राप्त नसक्ने भन्दै सबै मित्रराष्ट्रहरूसँग सहकार्य चाहेको विचार व्यक्त गरे । ‘यहाँ उपस्थित चिनियाँ लगानीकर्ता, सबै मुलुकका प्रतिनिधिको म ध्यानाकर्षण गराउन चाहन्छु, नेपाल अहिले ठूलो लगानीको प्रतीक्षामा छ । संविधान जारी र शान्तिप्रक्रिया टुंगिएसँगै नेपाल लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको छ,’ उपराष्ट्रपतिले भने, ‘प्रचुर सम्भावना बोकेको नेपालको पूर्वाधार, ऊर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरेर नेपालसँग साझेदार गर्न आग्रह गर्दछु,’ उनले भने । यही वर्षभित्र चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने चीनका राष्ट्रपति सी जिङ पिङले यही वर्ष नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । आइतबार उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निम्तो चीनका उपप्रधानमन्त्री वाङ याङलाई हस्तान्तरण गरेका थिए । निम्तोपत्र बुझ्दै वाङले यही वर्षभित्र उच्चस्तरीय भ्रमण हुने जानकारी गराएका हुन् । उपराष्ट्रपति पुनले चीन र नेपालको सम्बन्ध मजबुत भए पनि लामो समयदेखि उच्चस्तरीय भ्रमण हुन नसकेकाले नेपाली जनता स्वागत गर्न आतुर रहेको बताएको नेपाली भ्रमण टोलीका एक सहभागीले नयाँ पत्रिकासँग भने । चिनियाँ उपप्रधानमन्त्री भन्छन्, नेपालमा राजनीति स्थिरता आवश्यक उपप्रधानमन्त्री वाङले विकासका लागि नेपालमा राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् । ‘संविधान निर्माणपछि नेपालमा स्थिरता कायम भएको भन्ने जानकारी पाउँदा खुसी लागेको छ । चीनमा राजनीतिक स्थिरता भएकाले विकास सम्भव भएको हो,’ उनको भनाइ उद्धृत गर्दै ती सहभागीले भने । उपप्रधानमन्त्री वाङले नेपालसँगको इन्धन सम्झौता प्रक्रिया चाँडो अगाडि बढाउने बताएका थिए । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले संयुक्त रूपमा आयोजना गरेको एक्स्पो ६ दिनसम्म चल्नेछ । यसपटक औद्योगिक क्षमता, आर्थिक करिडोरको निर्माण र प्रविधि हस्तान्तरणमा एक्स्पो केन्द्रित रहने चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।