राजु वर्षकै उत्कृष्ट फुटबलर

काठमाडौं, १९ जेठ नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङ वर्षकै उत्कृष्ट फुटबलर घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक समारोहबीच मिडफिल्डर तामाङलाई २०७२ कै उत्कृष्ट फुटबलरका रूपमा सम्मानित गरेको हो । एन्फाद्वारा उत्कृष्ट खेलाडी घोषित भएका तामाङले २५ लाख पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई चेक हस्तान्तरण गरेका छन् । गाडी, अपार्टमेन्टपछि नगद तामाङ वर्षका उत्कृष्ट खेलाडी चुनिँदा पुरस्कारको स्वरूप पनि परिवर्तन भएको छ । एन्फाले पहिलोपटक वर्ष खेलाडी घोषणा गर्दा खेलाडीलाई कार दिइएको थियो । राष्ट्रिय टोलीका पूर्वकप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह पहिलो वर्ष खेलाडी बनेका थिए । उनले टोयटाको यासिर कार पाए । त्यसपछि नेपाली राष्ट्रिय टोलीकै पूर्वकप्तान हरि खड्का वर्ष खेलाडी हुँदा यासिर कार नै पाए । अर्का पूर्वकप्तान राकेश श्रेष्ठ तेस्रो वर्ष खेलाडी हुँदा कार पाएनन् । उनले अर्पाटमेन्ट पाए । त्यसपछि रितेश थापा र सागर थापा वर्ष खेलाडी हुँदै अपार्टमेन्ट नै पाए । राकेश, रितेश र सागरले अहिलेसम्म अपार्टमेन्ट पाएका छैनन् । उनीहरूसँग केवल डमी मात्र छन् । राष्ट्रिय टोलीबाट दुई गोल सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका तामाङले अहिलेसम्म दुई अन्तर्राष्ट्रिय गोल मात्र गरेका छन् । डेब्यु गरेको तीन वर्षपछि मात्र उनले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए । सन् २००८ मा साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्ध उनले गोल गरेका थिए । त्यसपछि दोस्रो अन्तर्राष्ट्रिय गोल सात वर्षपछि सम्भव भयो । सन् २०१५ मा एसिया कप छनोटमा उनले नर्थन मारियाना आइसल्यान्डविरुद्ध गोल गरेका थिए । अहिलेसम्म उनले राष्ट्रिय टोलीबाट ३५ क्याप जितेका छन् । लगातार दुई वर्ष राष्ट्रिय टोलीबाहिर प्रशिक्षक ग्राहम रोबट्र्सले तामाङलाई नेपालकै मेसी उपनाम दिएका थिए । प्रशिक्षक रोबट्र्सको समयमा उनी पहिलो रोजाइमा पर्थे । नेपाली सेनामा आबद्ध भएका कारण नै उनले राष्ट्रिय टोलीमा त्यति समय दिन सकेनन् । जसका कारण उनी अन्तिमपटक सन् २०१४ मा फिलिपिन्सविरुद्ध राष्ट्रिय टोलीमा देखा परे । त्यसयता तामाङ राष्ट्रिय टोलीमा छैनन् । सेनाकै खेलाडी नेपाली राष्ट्रिय र क्लबस्तरीय फुटबल प्रतियोगितामा तामाङ मिडफिल्डमा निकै जमेका छन् । मिडफिल्डरबाट स्ट्राइकरलाई सटीक पास दिन उनी माहिर छन् । कहिलेकाहीँ व्यक्तिगत खेलका कारण उनी आलोचित बन्ने गर्छन् । तामाङले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेको दिन क्लब वा राष्ट्रिय टोलीले आफूअनुकूल नतिजा निकालेका छन् । सुरुवातदेखि नै नेपाली सेनासँग आबद्ध भएका कारण उनले अन्य क्लबबाट खेलेका छैनन् । साग च्याम्पियन पुरस्कृत एन्फाले १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण र बंगबन्धु गोल्डकप जितेका पुरुष टोलीका प्रत्येक खेलाडीलाई जनही १० लाख प्रदान गरेको छ । हलचोकस्थित एपिएफ भवनमा बिहीबार प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्मानित गरेका छन् । यसैगरी १२औँ सागमै महिलातर्फ रजत जितेका महिला खेलाडीलाई जनही एक लाख प्रदान गरिएको छ । बंगबन्धु गोल्डकप (५ लाख) बिकेस कुथू, एलान न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन (कप्तान), दिनेश राजभण्डारी, मानबहादुर तामाङ, कमल श्रेष्ठ, विकर्ण लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, राजन विष्ट, सुनील बल, सुमन लामा, बालगोपाल महर्जन (प्रशिक्षक) उपेन्द्रमान सिंह (प्रशिक्षक) १२औँ साग विजेता (५ लाख) बिकेस कुथू, एलान न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन (कप्तान), दिनेश राजभण्डारी, मानबहादुर तामाङ, कमल श्रेष्ठ, विकर्ण लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, राजन विष्ट, सुनील बल, सुमन लामा, राजुकाजी शाक्य (प्रशिक्षक), मृगेन्द्र मिश्र (प्रशिक्षक) १२औँ साग महिला (१ लाख) अन्जली सुब्बा, लीला लाम्गडे, नमिता कुमारी, अनु लामा, निरू थापा, साजन राना, दीपा अधिकारी, लक्ष्मी पौडेल, कृष्ण खत्री, सावित्री भण्डारी, मनमाया लिम्बू, अनिता बस्नेत, घिमकुमारी गुरुङ, अमृता जैसी, दीपा राई, पुनम मगर, अन्जली वैवा, भगवती थापा, हीराकुमारी, सपना लामा, ध्रुव केसी (प्रशिक्षक), कुमार कटवाल (प्रशिक्षक)