राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष

काठमाडौं, १ असार

  • संयुक्त राष्ट्रसंघको ७१औँ महासभाका लागि नेपाल उपाध्यक्षमा चुनिएको छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चार मुलुक उपाध्यक्ष चुनिएका छन् । नेपाल पहिलोपल्ट निर्वाचित भएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उपाध्यक्ष पदमा निर्वाचित हुनु नेपालीको गौरवको विषय रहेको भन्दै ट्विट गरेका छन्
  • महासभाको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि फिजीका स्थायी प्रतिनिधि पिटर थोम्सन ९४ मत ल्याएर निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका साइप्रसका कूटनीतिज्ञले जम्मा ९० मत पाए । महासभा आगामी १३ सेप्टेम्बरमा सुरु हुनेछ ।
  • एसिया प्यासिफिक समूहबाट नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको हो । योसँगै नेपाल महासभाको साधारण समितिको सदस्य स्वत: हुनेछ । तीनवटा सत्रका लागि नेपाल सदस्य हुनेछ । महासभामा २१ मुलुकका उपाध्यक्ष चुनिएका छन् । अफ्रिकी समूहबाट कंगो, आइभोरीकोस्ट, नाइजेरिया, मौरिटानिया, जाम्बिया, एसिया प्रशान्त क्षेत्रबाट नेपाल, बंगलादेश, सोलोमोन टापु र तुर्कमेनिस्तान, पूर्वीयुरोपबाट अर्मेनिया, ल्याटिन अमेरिका तथा क्यारेबियनबाट बहमास, बेलिज तथा एलसाल्भाडोर, पश्चिम युरोपबाट बेल्जियम र जर्मनी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

शान्ति सैनिकलाई सात अर्ब ८६ करोड डलर

  • संयुक्त राष्ट्रसंघ महासभाको ७०औँ सत्रअन्तर्गतको पाँचौँ समिति (प्रशासनिक तथा बजेटसम्बन्धी) ले शान्ति स्थापक सेनाका लागि सात अर्ब ८६ करोड अमेरिकी डलर बजेट सिफारिस गरेको छ । १ जुलाई २०१६ देखि लागू हुने गरी राष्ट्रसंघका सबै १५ वटा मिसनका लागि यो बजेट सिफारिस गरेको हो । राष्ट्रसंघीय नियोग न्युयोर्कका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई नेतृत्वको समितिले राष्ट्रसंघ महासभालाई यो बजेट सिफारिस गरेको हो ।
  • source : Nayapatra