विमानस्थल भन्सार कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं, ३० असार घुस लिएर भन्सार नलिई टेलिभिजन छुटाउने विमानस्थल भन्सार कार्यालयका कर्मचारी पक्राउ परेका छन् । विमानस्थल भन्सारमा कार्यरत पियन पञ्च लामालाई पाँच हजार घुससहित विमानस्थल प्रहरीले नै पक्राउ गरेको हो । जर्मनीबाट बुधबार ३२ इन्चको टेलिभिजन लिएर आएकी सरिता आचार्यसँग पियन लामाले पाँच हजार रुपैयाँ लिएर टेलिभिजन छुटाएका थिए । १३ हजार रुपैयाँ भन्सार लाग्नेमा उनले घुस लिएर सामान छुटाएका थिए । आचार्यलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दा घुस दिएर छुटाएको खुलेको थियो । त्यसपछि प्रहरीले पियन लामालाई पनि पक्राउ गरेको थियो । रंगेहात घुससहित पक्राउ परेका कर्मचारीलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नबुझाई भन्सार कार्यालयलाई बुझाएको छ । सामान्य घटना हो : भन्सार प्रमुख ठूलो घटना नभएकाले आफूहरूले लामालाई आन्तरिक कारबाही गर्न लागेको विमानस्थल भन्सार कार्यालय प्रमुख योगेन्द्र गौचनले बताए । ‘मैले स्पष्टीकरण सोधेर विभागीय कारबाही अघि बढाइसकेको छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘ऊ प्रलोभनमा परेको रहेछ, ठूलो घटना नभएकाले आन्तरिक कारबाही गर्न लागेका हौँ ।’ स्रोतका अनुसार प्रहरीले पक्राउ गरेपछि लामाले पाँच हजार रुपैयाँ घुस फिर्ता गरेका थिए । जर्मनीबाट आएकी आचार्यले पछि १३ हजार रुपैयाँ भन्सार तिरेर टिभी छुटाएकी थिइन् । वैदेशिक रोजगारीबाट फर्किएकालाई ३२ इन्चको टेलिभिजन ल्याउन भन्सार छुटको सुविधा छ । तर, आचार्य वैदेशिक रोजगारबाट आएको नभई अन्य प्रयोजनका लागि जर्मनी गएकाले उनले भन्सार शुल्क तिर्नुपथ्र्याे । चेकजाँचमा खटिएका लामाले बार्गेनिङ गरी पाँच हजार घुस लिएर सामान छाडिदिएका थिए । होहल्ला भएपछि प्रहरीद्वारा पक्राउ घुस दिएर छुटिसकेपछि आचार्यका आफन्तले टेलिभिजनको भन्सार नै नलाग्ने, बेकारमा घुस दिएको भनेर हल्ला गरेपछि प्रहरीले सूचना पाई छानबिन गरेको थियो । ‘यस्ता घटना विमानस्थलमा दैनिक हुन्छन्,’ एक प्रहरी अधिकारीले भने, ‘आज हल्ला भएर कर्मचारी पक्राउ परेका हुन् ।’ घुससहित पक्राउ गरेको घटनामा कर्मचारीलाई भ्रष्टाचार मुद्दा लाग्ने भए पनि प्रहरी र भन्सारका कर्मचारी मिलेर लामालाई जोगाएका छन् । स्रोतका अनुसार एयरपोर्ट भन्सार प्रमुख गौचनले अख्तियारलाई खबर नगरी आफूलाई बुझाउन आग्रह गरेपछि विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले लामालाई भन्सार कार्यालयमै बुझाएका थिए ।