सप्तकोसीको बहाव पुलसम्मै

केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ । कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीले बताएका छन् । पहाडी जिल्लामा हुने वर्षाअनुसार कोसी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको नियन्त्रण कक्षका एक कर्मचारीले बताए । बिहीबार साँझ कुल ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको छ । आइतबार २३ ढोका खोलिएको थियो । बाढीको त्रासमा घर छाड्दै गोबरगाढावासी टापुको गाविसको रूपमा रहेको सप्तरीको गोबरगाढावासी बाढीको उच्च जोखिममा छ । सप्तकोसी नदीको बीच भागमा अवस्थित यो गाविसमा कोसीको बाढी जुनसुकै वेला पस्ने भएकाले गोबरगाढावासी बाढीको त्रासमा छन् । ‘बाढीको त्रासले गाउँका ३० प्रतिशत मानिस आफन्तको घरमा गइसकेका छन्,’ स्थानीय हरि यादवले भने, ‘बाढीकै कारण कतिपयले योगिनियाँ, हनुमाननगर तथा भारदहमा अस्थायी घर बनाएका छन्, तर उब्जाउ हुने खेत यही भएको र गाई–भौसी चराउने पर्याप्त ठाउँ भएकाले आफूहरू जोखिम मोलेर पनि गाउँमै छौ ।’ चार घर भत्कियो बाढी र वर्षाको पानी निकास हुने व्यवस्था नहुँदा वडा नम्बर–४ का चारवटा घर भत्किएका छन् । स्थानीय सन्तोष झाका मात्रै दुईवटा घर बाढीले भत्काएको छ । बाढीको पानी घर–आँगनमा पसेपछि खाना पकाउन पनि समस्या भएको बाढीपीडित स्थानीयले भने, ‘घर नै भत्किन थालेपछि दैनिकी कष्टकर बनेको छ ।’ एक सातादेखि खतरा सूचक रातो झन्डा एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज (पुल) को आयु रहुन्जेल यसको क्षमता ९ लाख क्युसेक प्रतिसेकेन्ड पानी बहाव गर्ने क्षमता थियो । तर, कोसी ब्यारेजको आयु सकिएको र बहाव क्षमता कम भएकाले अहिले डेढ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भए खतरा सूचक रातो झन्डा लगाउने गरिएको छ । पछिल्लो एक सातादेखि कोसी नदीमा पानीको बहाव घटबढ भइरहेकाले बिहीबार पनि खतरा सूचक रातो झन्डा कोसी ब्यारेजमा कायमै छ । कोसी ब्यारेजमा वर्षौादेखि थुप्रिएको बालुवाले तीन लाख क्युसेकमै पानी झन्डै पुल नै छुन लाग्ने गरेको हुन्छ । बालुवा ल्याएर जम्मा गर्नेमा एसियाकै दोस्रो ठूलो नदी कोसी हो । हजार बिघा धान बाली डुब्यो खाँडो खोलाको बाढी र वर्षाको पानीले सप्तरीको दक्षिणी क्षेत्रका हजारभन्दा बढी बिघामा लगाइएको धान बाली डुबानमा परेको छ । बाढीले हनुमाननगर, सकरपुरा, रम्पुरा, मल्हनियाँ, इनर्वासहितका गाविसमा लगाइएको धानबाली डुबाएको हो । सप्तकोसीमा आएको बाढीले भारदहको करिब पाँच सय बिघा केरा बगान डुबानमा परेको छ । बाढीले सप्तरीका ४५ घर डुबानमा खाँडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी गाविस सकरपुराका पाँचवटा वडा डुबानमा परेका छन् । तटबन्ध कमजोर भएकाले बाढी बस्तीतर्फ पसेको हो । गाविसको एकदेखि पाँच नम्बर वडाका करिब ४५ घर बाढी र वर्षाको पानीले डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दानसिंह कार्कीले बताए । बाढीले मानवीय तथा चौपाया क्षति नभए पनि जानकारी पाउनासाथ उद्धारका लागि जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । खाँडो खोलामा सामान्य बाढी आउनासाथ सकरपुरा, तिलाठी, रम्पुरा, मल्हनियाँसहितका आधा दर्जन गाविस डुबानमा पर्ने गरेका छन् । ‘बिहानैदेखि बाढी र वर्षाको पानी घरमा पसेको छ,’ सकरपुरा–४ का सन्तोष झाले भने, ‘अहिले त वर्षा कम भएकाले बाढी केही कम भएको छ, तर आउजाउमा समस्या नै छ ।’