सौन्दर्य जोगाउन जे गर्छन् यी अभिनेत्री

फिटनेस र स्वस्थ शरीरका कारण दीपिकालाई ‘बलिउडकी रानी’ पनि भनिन्छ । तर, उनले यसका लागि धेरै ठूलो मिहिनेत गरेकी छिन् । बलिउडमा आफ्नो जबर्जस्त उपस्थिति जनाउन सक्ने उनी ब्याडमिन्टन नियमित खेल्छिन् । फिट रहनका लागि उनलाई यासिम करासिवालाको सहयोग हुन्छ । दीपिका आफू स्लिम हुने कुरामा मात्र विश्वास गर्दिनन्, उनी स्वस्थ शरीरको पक्षमा छिन् । त्यसका लागि आफूले खाने कुरा, एक्सरसाइजमा पनि ध्यान दिने गरेको उनी बताउँछिन् । उनी दैनिक योग र फिटनेसमा अभ्यास गर्छिन् । योगमा उनी  सूर्य नमस्कार र विभिन्न आसनहरू नियमित गर्छिन् । फिटनेस क्लबमा उनी कार्डिओलाई प्राथमिकता दिन्छिन् । उनी आफ्नो खाना घटाउने पक्षमा छैनन् । तर, ती खाना उनी अत्यन्त कम लिन्छिन् । उनी ताजा फलफूल र चकलेटकी पनि पारखी हुन् । उनी पानी पनि धेरै पिउँछिन् र पर्याप्त सुत्छिन् ।  आलिया भट्ट आलिया भट्टको शरीर र सौन्दर्यको विषय अहिले पनि बारम्बार बलिउडमा चर्चा हुने विषय हो । फिल्म ‘स्टुडेन्ट अव द इयर’ आएपछि झन् उनको सौन्दर्यको चर्चा चुलियो । आफ्नो सौन्दर्यको राजबारे उनले केही समयअघि अन्तर्वार्तामा भनेकी थिइन्, ‘यसका लागि म नियमित कन्सस छु ।’ उनले आफूलाई चिल्लो र मसलेदार खानाबाट सधैँ टाढा राख्छिन् । सुत्नुभन्दा दुई घन्टाअगाडिबाट केही पनि नखाने उनले नियम बनाएको पनि लामो समय भइसकेको छ । आलिया अत्यधिक पानी पिउँछिन् र शरीरको छालाको हेरचाह गर्न विशेष  ध्यान दिन्छिन् । तर, फिटनेसका लागि आलिया लामो समय जिममा बिताउने गर्दिनन् । ‘म मिलाएर अभ्यास गर्छु,’ उनले भनेकी थिइन्, ‘किकबक्सिङ, बिच रनिङ, स्विमिङले पनि मलाई फिट राख्न धेरै सहयोग गरेका छन् ।’ तर, के चाहिँ हो भने आलिया प्रत्येक दिन कुनै न कुनै एक्सरसाइज गर्छिन् ।  करिना कपुर अभिनेत्री करिना कपुर बलिउडकी ‘स्टायल आइकन’ हुन् पनि भनिन्छ । ‘जिरो फिगर’का लागि उनले लामो समय चर्चा पाइन् । विशेष गरी फिल्म ‘तशान’मा अभिनय गरेपछि उनको सौन्दर्य र शरीरको फिटनेसबारे चर्चा चुलियो । यसका लागि आफूले लामो समय कडा अभ्यास गरेको उनले बताउने गरेकी छिन् । उनी योग र शारीरिक अभ्यासलाई नै आफ्नो सौन्दर्यको राज मान्छिन् । उनी नियमित सूर्य नमस्कार, भुजांगासन, विक्रम योग गर्छिन् । त्यस्तै, उनी शरीर मेन्टेन गर्न पौडी पनि खेल्छिन् । उनी खानामा पनि विशेष सचेत छिन् । तर, तौल घटाउनका लागि लामो समयसम्म केही खानुहुँदैन भन्ने पक्षमा उनी छैनन् । उनी दैनिक खाना खान्छिन्, तर गुलियो र धेरै चिल्लो खानाबाट परै रहन्छिन् । सौन्दर्य तथा शरीरलाई मेन्टेन गर्न उनी पर्याप्त निद्राको पनि वकालत गर्छिन् । उनी नियमित कम्तीमा पनि आठ गिलास पानी पिउँछिन् ।  विपाशा बसु बलिउडमा यी बंगाली ब्युटीले पनि लामो समय राज गरिन् । यसको एउटै कारण हो– उनको सौन्दर्य र फिट शरीर । फिल्म ‘धुम–२’ मा अभिनय गरेपछि कतिसम्म भयो भने बलिउडमा सबैले उनको शरीरको प्रशंसा गरे । तर, यी सबै विपाशाले सहजै पाएकी भने होइनन् । विपाशाले आफ्नो शरीर मेन्टेन गर्न अत्यन्त धेरै मिहिनेत गर्ने गरेकी छिन् । यसका लागि उनले अत्यन्त कडा डाइट प्लान र एक्सरसाइजलाई फलो गर्ने गरेकी छिन् । विपाशाले ‘लभ योरसेल्फ’ नामका फिटनेसका लागि उपयुक्त सिडीहरू पनि लन्च गरेकी छिन् । तर, विपाशा ‘स्लिमिङ पिल्स’ (सिल्म हुनका लागि लिइने औषधि)माथि विश्वास गर्दिनन् । त्यस्तै उनी भोकै रहने सुझाब पनि दिन्नन् । बरु, उनी जंक फुड खान्नन् र नियमित खाना लिने गर्छिन् । त्यति मात्र होइन, उनी पर्याप्त मात्रामा पानी पिउँछिन् । साइक्लिङ र ट्रेडमिलमा उनी दिनहुँ दौडिन्छिन् । त्यस्तै, उनी नियमित सात–आठ घन्टा सुत्छिन् ।  प्रियंका चोपडा बलिउडमा अभिनेत्री प्रियंका चोपडाको शरीरको पनि बारम्बार प्रशंसा भइरहेको हुनछ । यस्तो किन पनि भने उनले लामो समयदेखि शरीर र सौन्दर्यलाई सन्तुलनमा राख्न सकेकी छिन् । फिल्म ‘डन’मा उनले गरेको अभिनयको मात्र होइन, शरीर र सौन्दर्यको पनि प्रशंसा भएको थियो । उनको स्लिम शरीरको प्रशंसा नगर्ने अत्यन्त कम होलान् । उनी अकस्मात् तौल ‘गेन’ किन पनि गर्दिनन् भने खानामा उनी अत्यन्त सचेत छिन् । उनी अत्यन्त कम खान्छिन् । तर, आफूले सधैँ ‘ब्यालेन्स्ड डाइट’ लिने गरेको उनी बताउँछिन् । उनी केमा पनि सचेत छिन् भने प्रत्येक दुई घन्टामा उनी खाना लिन्छिन् । त्यति मात्र होइन, दैनिक दौडिन्छिन्, पुस अप गर्छिन् । प्रियंका योग पनि नियमित गर्छिन् । त्यति मात्र होइन, उनी मार्सल आर्टस्मा पनि विशेष ध्यान दिन्छिन् । पन्जाबबाट आएकी भए पनि उनी खानबाट अलिक टाढा रहन्छिन् ।  क्याट्रिना कैफ कुनै समय क्याट्रिना कैफको शरीरलाई बलिउडमा त्यति रुचाइँदैनथ्यो । तर, अहिले उनको शरीरको तारिफ नगर्ने कमै होलान् । यसका लागि उनले अत्यन्त धेरै मिहिनेत गरिन् । कतिसम्म भने उनले तौल नघटाउँदासम्म कार्यक्रममा जान नै छोडिदिइन् । यसका लागि क्याट्रिना दैनिक उठ्नेबित्तिकै तीन गिलास पानी पिउँछिन् । यसले आफ्नो शरीरमा भएको हानिकारक तत्व हटाउन सहयोग हुने उनले बताउने गरेकी छिन् । त्यसपछि उनी प्रोटिन धेरै भएको खानामा जोड दिन्छिन् । त्यस्तै, फाइबरयुक्त खाना पनि उनको रोजाइमा पर्छ । खानासँगै उनी नियमित आफूले खाने पानीमा पनि उत्तिकै ध्यान दिन्छिन् । फलफूल र फलफूलको जुस पनि उनको रोजाइमा पर्छ । त्यति मात्र होइन, क्याट्रिना नियमित योग र एक्सरसाइज गर्छिन् । बिहान जगिङ गरेपछि उनी केही घन्टाका लागि जिममा समय बिताउँछिन् । साथै उनी साताको दुईपटक साइक्लिङ गर्छिन् ।