हेलिकप्टर दुर्घटनामा चालकसहित सातको मृत्यु

काठमाडौँ, २४ साउन । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । नवजात शिशु बिरामी भएका कारण काठ्माडौं ल्याउँनका लागि सो हेलिकप्टर प्रयोग गरिएको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव संकलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ । प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको हो ।