‘एमाले दुई जिब्रे संगठन र माओवादी लोपोन्मुख दल’

पहिलो चरणको चुनाव हुन तीन दिन मात्र बाँकी रहेको अवस्थामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले जारी गरेको घोषणापत्रमा  एमालेलाई ‘दुई जिब्रे र माओवादीलाई अच्चमको लोपोन्मुख पार्टी’को संज्ञा दिएको छ ।  काँग्रेसप्रति नरम देखिएको राजपा नेपाल एमाले र माओवादी केन्द्रप्रति निकै आक्रमक देखिएको छ । काँग्रेसमा जस्तो सुकै त्रुटी भएपनि सो दलसँग छलफल र सहकार्य गर्ने अवस्था रहेको घोषणापत्रमा उल्लेख गरिएको भएपनि एमाले स्वरुपमा राजनीतिक दल भएपनि सत्तालोलुप, अवसरवादी, विकास विरोधी र सरकारमा जान जे पनि गर्न सक्ने पार्टीको भएको भनि टिप्पणी गरेको छ ।

एमाले पार्टी राष्ट्रिय विकासमा तगारो हाल्ने सबै भन्दा अग्रणी पार्टी रहेको उल्लेख गर्दै राजपा नेपालले अरुण तस्रो जलविद्युत आयोजना बन्ने क्रममा हुँदा विश्व बैंकलाई पत्र लेखेर रोकेको आरोप लगाएको छ । फास्टट्रयाक निर्माण कार्य रोकेको आरोप लगाउँदै एमालेले मुखले विकास भनेपनि विकासलाई अलपत्र पार्दै आएको दुई जिव्रे पार्टी भएको आरोप राजपा नेपालले लगाएको छ । 

हरेक निर्वाचनमा गरिब र धनीको बीचमा फाटो ल्याएर विपन्न वर्गबाट प्रशस्त मत ल्याए पनि केही नगरेको टिप्पणी गर्दै सो दलले एमालेलाई दिने मत समावेशिता, विकास, राष्ट्रियता, राष्ट्रियता र सामाजिक सद्भावको विरुद्धमा जाने दावी गरेको छ । 

राजपा नेपालले माअ‍ोवादी केन्द्रले जन्मदेखि नै पटक पटक नाम परिवर्तन गरेको, पटक पटक आन्दोलनमा जाने तर विनाकारण फर्किने, स्वरुमा ठूलो तर शासनकालमा फितलो रहेको दल रहेको टिप्पणी गरेको छ । 

आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अस्थिर, अच्चमको लोपोन्मुख दल रहेको टिप्पणी गर्दै पहिलो सविधानसभा चुनावसम्म जनताको पक्षमा सकारात्मक कुरा उठाए पनि दोस्रो संविधानसभा चुनावपछि सिद्धान्त विर्सिएर दिग्भ्रमित भएको, आफ्नो अस्तित्व बनाउन विचलित भएको र जायज–नजायज सबैसँग सहकार्य गर्दै हिँडेको पार्टी रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

दुई व्यक्तिको नितान्त स्वार्थ पूरा गर्न वाम गठबन्धन बनाएको आरोप लगाउँदै उनीहरुले मौका पाए भने तानाशाही लाद्ने र अधिनायकवादको अभ्यास गर्न पछि नपर्ने घोषणापत्रमार्फत दाबी गरिएको छ । यो समाचार आजको रातो पाटीले लेखेको छ