संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई प्रधानमन्त्रीकाे अाग्रह

प्रधानमन्त्री केपी ओलीले संविधानमा प्रतिवद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन् । सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेवार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए ।

उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि ओलीले आग्रह गरे । राष्ट्रिय सुचना आयोगले राष्ट्रिय सुचना दिवसको अवसरमा आईतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्तिको उन्माद र स्वार्थको घेरा भित्र रहेको संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्न प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका हुन् ।

‘कहिले एउटा न्यायाधीश माथि झोक चल्यो भने र्दुर्वासा ऋषि रिसाएजस्तो गरेर उर्फिएर महाअभियोगको प्रस्ताव राख्दिन्छौ,’ उनले भने, ‘कहिले सुनुवाई समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ । यो उत्पात समितिको फैसला आएपछि होइन त्यो भन्दा अगाडि देखि नै सुरु हुन्छ । के भएको ? अचम्म लाग्छ । त्यसैले मौसमी कुरा गर्नु हुँदैन हामीले ।’ प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे ।

अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने उनको भनाइ छ । उनले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाए । उनले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषय विज्ञताका आधारमा नियुक्ति हुने दाबी गरे ।

उहाँले संविधानमा नै सूचनाको हक सरकारमा भए दिने र नभए लिने भनेर लेखेको र त्यसमा हस्ताक्षर गरेकाले सुचनाको हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । संविधानको पालना सबैले गर्नुपर्ने तर्फ पनि उनले सचेत गराए ।

उनले राष्ट्रिय आवश्यकता बोधबाट मात्रै संविधान संसोधन हुने स्पष्ट पारे । साना तिना विषयलाई सम्बोधन गर्ने नाममा संविधान जस्तो विषयलाई हेलच्याई गर्न नहुनेमा उनले जोड दिए । एक वर्ष अगाडि बनेको कानुन कार्यान्वयनको समयमा चौतर्फी प्रहार गर्ने काम भएको भन्दै उनले दुःख व्यक्त गरे ।

 

source:nayapatrikadaily