डा. दीक्षित भन्छन् : चिकित्सकले धर्म छाडे, पैसाको मात्रै पछि लागे

काठमाडौँ : डा. सुन्दरमणि दीक्षितले चिकित्सकहरुले विरामी, दुखी र निमुखाको उपचार पाउने अधिकारविरुद्ध गएर आन्दोलन गर्नु गलत रहेको बताएका छन् । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा ठाकुर बेलबासेसँग कुरा गर्दै उनले चिकित्सकहरुको धर्म सडक आन्दोलन र अनशन हुनै नसक्ने बताए । 

‘चिकित्सकहरुले कहिले पनि सडकमा आन्दोलनमा उत्रनु हुँदैन’, उनले भने, ‘चिकित्सकको धर्म त्यो होइन, सर्वधर्म भन्दा माथिका व्यक्ति हौँ हामी, हाम्रो कर्तव्यबाट बिमुख भएर उपचार दिन्नौँँ भन्नु अमानवीय कुरा हो ।’ 

आफ्नो माग पुरा गराउने नाममा निमुखा बिरामीको ज्यान जोखिममा पार्न खोज्नेहरु चिकित्सक हुनै नसक्ने उनको भनाइ थियो । ‘यो मुलुकी संहिता एक वर्षअघिबाटै तयार भएको हो, यस्तो अवस्थामा चिकित्सक संघले कानुनविदहरुसँग सल्लाह गर्नुपर्नेमा सडकमा उत्रनु गलत हो’, उनले थपे, ‘शिक्षित र संवेदनशील काम गर्ने जिम्मा पाएकाहरुलाई जनताले देउता मानेकाले सेवा दिन्न भनेर बस्नु जायज हुनै सक्दैन ।’

डा. दीक्षितले बुद्धिजीवी समुदायकाले ट्रेड युनियनले जस्तो अभद्र आन्दोलन गर्न नहुने उल्लेख गरे । चिकित्सक भनेका बुद्धिजीवी पनि हुन्, उनीहरुले ट्रेड युनियन जस्तो काम गर्ने होइन’, उनले भने, ‘कानुनी उपायबाट अहिलेको समस्या समाधान गरिनुपर्छ ।’

डा. दीक्षितले कार्यक्रममा पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीमाथि पनि निशाना साँधै । उनले एउटा व्यक्तिका कारण देशभरको स्वास्थ्य संस्था ठप्प पारिनु गलत भएको बताए । 

‘एउटा मान्छे अनशन बस्दा नेपाल चिकित्सक संघले देशभर विरामीको उपचार ठप्प बनायो’, उनले भने, ‘कानुन आउने थाहा हुँदा हुँदै एक वर्षसम्म रमिता हेरेर बसेपछि अहिले आएर आन्दोलन गर्नु पनि गलत हो । सकिन्छ भने नेता, सांसद र मन्त्रीलाई अफ्ठेरोमा पार तर जनतालाई होइन ।’ 

प्रजातन्त्रमा सरकारलाई खबरदारी गर्नु जरुरी हुने बताउँदै अर्कातिर डाक्टरले कम्जोरी गर्दा पनि आक्रमण गरि हाल्ने चलनले चिन्ता बढाएको बताए । उनले अन्याय भयो भनेर डाक्टरलाई ठोकिहाल्ने काम गलत रहेको पनि बताए । 
‘यसअघि पटक पटक चिकित्सकहरुमाथि आक्रमणमा संलग्नलाई कारबाही भएको छैन, दण्डहीनता चरम सीमामा छ’, उनले भने, ‘डाक्टरले जानी जानी कसैको ज्यान लिँदैन, कमजोरीले हुन्छ ।’
 
उनले चिकित्सा पेशा एकदमै गाह्र भएको पनि बताए । ‘हाम्रो पेशा एकदमै गाह्रो छ, कहिलेकाहीँ मर्न लागेको बिरामीलाई कडा औषधि पनि दिनुपर्छ जसले बिरामी पनि मर्न सक्छ’, उनले भने, ‘तर हामीले बिरामीको हितका लागि यो काम गरेका हुन्छौँ ।’ 

एउटा डाक्टरले अस्पतालमा धेरै जोखिम मोल्ने गरेको पनि उनले बताए । ‘डाक्टर देउता र भगवान होइन मान्छे नै हो’, उनले थपे, ‘बिरामीको जीवन जोखिममा रहेका बेला प्रयोग गरिने औषधि एटम बम नै हो, जसले कि निको बनाउँछ कित ज्यानै पनि लिन्छ ।’ 

दीक्षितले कडा कानुन भन्दा पनि डाक्टरलाई नियमन गरिनुपर्ने जरुरी रहेको बताए । ‘नियमनको साटो अहिले त कडा कानुनले जेल हाल्न खोजियो’, दीक्षितले भने, ‘बिरामीको सेवा ठप्प पारिनु विल्कुलै गलत हो । अर्कातिर डाक्टरलाई जेल नै हाल्छु भन्नु पनि गलत हो ।’

दीक्षितले कडा कानुन बनाएर सरकारले डाक्टरमाथि तरबार लड्काउन खोजेकोमा पनि आपत्ति जनाए । ‘हाम्रोमाथि तरबार लड्केको छ, त्यहीकारण फौजदारीसँग जोगिन यस्तो गरेका हाँै’, उनले भने, ‘तर नेपाल मेडिकल एशोसियनले बन्द हड्ताल गर्नु विल्कुलै गलत हो ।’ 

दीक्षितले सबै चिकित्सकहरु पेशामा संवेदनशील नरहेको पनि बताए । ‘सबै चिकित्सकहरु देशभक्त र जिम्मेवार छैनन्, चिकित्सकहरु पनि व्यापारी भएका छन् । जनताको ढाड सेक्ने गरी पैसा लिएका छन्’, उनले अगाडि थपे, ‘चिकित्सकहरुले पनि जनताको सेवाका लागि यो पेशामा लागेको ख्याल गर्नुपर्छ । चिकित्सकले आफूलाई अफ्ठेरोमा पारेर पनि बिरामी बचाउनुपर्छ ।’

डाक्टर दीक्षितले चिकित्सकहरुमा पैसा कमाऊ मानसिकता बढेको बताए । ‘अहिलेका चिकित्सकहरु एनीहाऊ, पैसा कमाऊ मानसिकताका छन्’, उनले भने, ‘हामीले आत्मालाई सन्तोष दिने खालको काम गर्न सक्नुपर्छ ।’ 

महंगियो चिकित्सा शिक्षा

डा दीक्षितले चिकित्सा पढाई अहिले गरिबका छोरा छोरीको हात भन्दा बाहिर पुगेको पनि बताए । ‘अहिले अत्यन्त महँगो छ, मैले मासिक १९ रुपैयाँमा चिकित्सा पढेको थिएँ’, उनले भने, ‘अहिले ७० लाख भन्दा धेरै खर्च गर्नुपर्छ । चिकित्सा क्षेत्रमा पैसा कमाऊ प्रवृत्ति मात्रै देखियो ।’

source:annapurnapost