समानुपातिक सूची सार्वजनिक : नेतादेखि उद्योगीसम्म उम्मेदवार

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि दलहरूले समानुपातिकतर्फ पेस गरेको बन्दसूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको बन्दसूची आयोगले कार्यतालिकाअनुसार निर्वाचन हुन २३ दिनअगाडि सार्वजनिक गरेको हो।

दलहरूको समानुपातिक सूचीमा नातेदार, उद्योगी व्यापारी र पूर्वमन्त्रीसमेत अटाएका छन्। कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवारमा सुजाता कोइराला, पूर्वशिक्षामन्त्री दिलेन्द्र बडू, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, पत्रकार तथा लेखक हरि अधिकारी, विद्यालय सञ्चालक उमेश श्रेष्ठ र उद्योगपति विनोद चौधरीलगायत परेका छन्।

एमालेबाट उद्योगी मोतीलाल दुगड, पूर्वमन्त्री एकनाथ ढकाल, पूर्वउपसभामुख गंगाप्रसाद यादव, विद्यार्थी नेत्री रामकुमारी झाँक्री र नवीना लामा, रेडियो सञ्चालक मीनबहादुर शाही, गैरसरकारी संस्था महासंघकी शर्मिला कार्की, पूर्वसांसद शान्ता चौधरी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दिनेशचन्द्र देवकोटालगायत समानुपातिक सूचीमा परेका छन्।

त्यस्तै, माओवादीबाट पूर्वमन्त्री रेखा शर्मा, हितराज पाण्डे, प्रेमबहादुर सिंह, पूर्वसभामुख ओनसरी घर्तीमगर, उपसभामुख पूर्णकुमारी सुवेदी, पूर्वसांसद रेणु चन्द, पार्टी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल पनि समानुपातिक सूचीमा अटाएका छन्। राप्रपाबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द, पूर्वमन्त्री बुद्धिमान तामाङ, दिलनाथ गिरीलगायतले समानुपातिकमा ठाउँ पाएका छन्। त्यस्तै, राजपाबाट नेता अनिल झाकी श्रीमती डिम्पल कुमारी पनि समानुपातिक सूचीमा परेकी छन्।