तामाकोसी आयोजना समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

लामाबगर(दोलखा) — प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधैं जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । 

 

बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न आइपुगेका ओलीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन्। ढिलासुस्ती गरे तत्कालन कारबाही गर्छु।’ तोकिएकै समयमा आयोजना निर्माणका लागि कुनै विलम्ब हुन नदिने उनले बताएका छन्।
 
कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने ओली सरकारको निति रहेको बताउँदै उनले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए। आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए।
 
उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये सबैभन्दा पहिला तामाकोसीजलविद्युत् आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
 
२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भूकम्प, भारतीय नाकाबन्दी, विष्फोटक पदार्थको अापूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ।
 
आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९ को मे भित्र सम्पन्न गर्नुपर्ने छ।
आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री, उर्जामन्त्रीसहित चिनियाँ राजदूतको टोली दोलखा आएको छ। लामाबगरमा निर्माण गरिएको बाँध निरीक्षण गरेर प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन्।
 
SOURCE:KANTIPUR