कांग्रेसको मत किन घट्यो ? गगन थापासहितका ६ युवाले दिए ४ कारण

काठमाडौँ — कांग्रेसका ६ जना युवा नेताको तर्फबाट भन्दै गगन थापाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा ५० पेजको धारण प्रस्तुत गरेका छन् । थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादवले 'निर्वाचनको समिक्षा र अगामी कार्यदिशा' नाम दिएर प्रस्तुत गरेको अवधारणको पहिलो अध्ययमा कांग्रेसको मत किन बढेन भन्ने सम्बन्धमा लामो विवरण दिइएको छ । 

त्यसमा उल्लेखित कारणहरुको सम्पादित अंश यहाँ दिइएको छ:

अवसरको सदुपयोग गर्न नसक्नु
२०४८ सालको निर्वाचन पश्चात कांग्रेसलाई एउटा महत्वपूर्ण अवसर आएको थियो। जन आकांक्षा अनुरुप सुशासन कायम राख्दै देशको विकासमा गर्ने अवसर थियो। झण्डै तीन दशक अन्धकारमा रहेका जनताले न्याय, समता र लोककल्याणलाई सर्वोपरी मान्दै शासन सञ्चालनको नयाँ परम्परा स्थापित गर्छ भन्ने आशा गरेर नै कांग्रेस पार्टीलाई बहुमत दिएका थिए। त्यो अवसरलाई सदुपयोग गरेर कसरी जनताको मत जित्ने बिढ कसरी पुर्‍याउने तर्फ कोशिस हुनु पर्‍थ्यो, तर त्यस हुन सकेन। यो २६ वर्षको अविधमा हाम्रो जनाधार बढेन बरु निरन्तर घट्दै गयो। हाम्रो परम्परागत गढ भत्किए, तर नयाँ मतदाता आकर्षित भएनन्। हाम्रो बलियो पकड भएको मधेसमा जनताको पहिलो रोजाई मधेस केन्द्रित दल भएका छन् भने सहरी क्षेत्रमा नयाँ मतदाताले कांग्रेसको विकल्पतर्फ नजर लगाइरहेको दुखद अवस्था छ। सहरी मध्यमवर्ग, गरीब-विपन्न, युवा-बृद्ध, मधेस-पहाड-तराई किन कोही पनि हामीसँग रहेनन्? हामीले लिएको बाटो गलत भयो वा कार्यशैली?
प्रजातन्त्रको पुनस्थापना पश्चात २०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो। हाम्रो आफ्नै कारणले सरकार पुरा अविध चलाउन सकेन। त्यसयताका २६ वर्षको अविधमा राजाको प्रत्यक्ष शासन बाहेक पनि दुई दर्जन बढी सरकारहरु बने। दुई पटक बहुमतसहित र अन्य समयमा गठबन्धन बनाएर पटक पटक सरकार सञ्चालनको अवसर कांग्रेसले पायो। अर्थात जनताको मन र मत दुवै जित्ने, परिणाम दिनसक्ने मौका कांग्रेसले पाएकै हो। तर किन जनता कांग्रेससँग निराश र आक्रोसित भए? 'पटक पटक तिमीहरुलाई मौका त दिएकै हो के गर्‍यौ?' भनेर जनताले सोध्दा हामीले गरेका कामको लामै सूची त देखाउन सकिएला। तर आजका दिनमा कुनै पनि नेपाली नागरिकलाई यो कालखण्डमा बनेका सरकारहरुले गरेका काम कस्तो लाग्यो भनेर सोध्ने हो भने उत्तर आउँछ- अस्थिर, अनुत्तरदायी र अप्रभावकारी यस्तै यस्तै...।
जनतासँगको संवादको उपेक्षा
हामीले यो बीचमा त दुई पटक एक्लै सरकार चलाउन बहुमत नै पायौं, तर न हामीले पुरा समय सरकार चलाउन सक्यौं, न त सरकारको नेतृत्व नै एक जनाको गरिराख्न सक्यौं। गठबन्धनमा सरकार चलाउँदा पनि हामीलाई सधै सरकार बदल्न हतारो भइरहेको नै जनताले देखिरहे। एक पटक अन्तरआत्मालाई सोध, सरकार बदल्न, आफ्नै सरकार कमजोर गराउन हामीले के चाही गरेनौं होला ! यो सबैले गर्दा जनताबाट प्राप्त मतादेशलाई आम नागरिकको हितमा प्रयोग गर्न भन्दा पनि फगत पार्टीका केही महानुभावहरुको सत्तारोहणको लालसालाईपुरा गर्नमा प्रयोग गर्न कांग्रेसको परिचय बन्न पुग्यो। पार्टी सत्तामा गएपछि, यसैमा मदहोश भएर जनतासँगको संवादलाई कांग्रेस पार्टीको नेतृत्वले सदैव उपेक्षा गरिरह्यो।यो कालखण्डमा सहरी मध्यम वर्ग बढ्दै गयो, यो वर्गले सवैभन्दा महत्व दिने भनेको सरकारमा रहँदाको पार्टीको कार्यसम्पादन हो। हाम्रो कार्य सम्पादनले सन्तुष्ट हुन नसक्दा ठूला सहरहरुमा मतदाताले विकल्प खोज्न थाले।
समाजिक मुद्दामा अलमल
२०४७ पश्चात कांग्रेसले नेपाली समाजमा विद्यमान असमानतालाई के-कसरी हेर्ने भन्ने विषयमा सबैभन्दा ठूलो गल्ति गरेको देखिन्छ। जसको सिधा फाइदा कम्युनिष्टहरुले लिएका छन्। जात, धर्म, लिङ्ग, भूगोल आदिको आवरणमा देखिएको असमानता कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कांग्रेस सदैव अलमिलएको अवस्थामा रह्यो। दलित, महिला, जनजाति, मधेसी, विपन्न, पीछिडएको वर्ग, क्षेत्र तथा समुदाय आफ्नो पहिचान र समानताको आकंक्षा गरिरहे तर त्यस्तो आकांक्षालाई कांग्रेसले कसरी सम्बोधन गर्ने भन्ने विषय नै पहिल्याउन सकेन। हामी अलमलियौं तर हाम्रो मान्यता र घोषणाले नेपाली समाजमा गुम्सिएर रहेका दलित, महिला, जनजाति, मधेसी, विपन्न, पीछडिएको वर्ग, क्षेत्र, समुदायका पहिचान र समानताका आकांक्षाहरु प्रकट र सघन हुँदै जाने क्रम भने रोकिएन। किनकी हाम्रो संघर्षले ल्याएको उदार प्रजातान्त्रिक राजनीतिले त्यसका निम्ति वातावरण वनाइिदएको थियो।
सांगठनिक कमजोरी
कुनै पनि पार्टी कस्तो हो भन्ने निर्धारण पार्टीको सदस्यता विधि, नीति र नेतृत्वको छनोट कुन तरिकाबाट हुन्छ भन्नेले निर्धारण गर्छ। नेपाली कांग्रेसको सम्बन्धमा पार्टीले चाहेकाले मात्र पार्टीको सदस्यता पाउन सक्छन् र यसरी पार्टीले चाहेको व्यक्तिले नै पार्टीको नेतृत्व चुन्न पाउँछ र चुनिएको नेतृत्वको समुहले मात्र पार्टीको नीति निर्धारण गर्न पाउँछ। पार्टीको औपचारिक आम्दानी पार्टीको सदस्यहरुको लेबी नै हो। पार्टीले कुनै पनि मौका दिंदा अपवाद वाहेक पार्टी सदस्यता लिएको व्यक्ति र अवधिलाई नै मुख्य आधार बनायो। अर्थात कांग्रेस क्याडर बेष्ड पार्टी हो। तर हामीले यसलाई स्वीकार गरेनौं र मास वेष्ड पार्टी भन्ने नै मानिरह्यौं। मास वेष्ड पार्टी भएकोले पार्टीको नीति र नेताबाट प्रभावित भएर स्वत: पार्टीमा सदस्य थपिन्छन् भन्ने भ्रम हामीमा रहिरह्यो तर वास्ताविकता त्यस्तो थिएन। हामीले नचाहेका र नछानेका पार्टीमा आफैँ छिर्न नसकुन् भनेर पार्टीको मूल प्रवेशद्वारमा नै ठूलो ताल्चा लगाएर राखेका थियौं। अनि नयाँ सदस्य र मतदातादे कसरी प्रवेश पाउने?
source:kantipur