पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटो हटाउने केटाकेटीलाई सम्झाउनुपर्छ : ओली

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विगतमा ऐतिहासिक योगदान दिएका नेतालाई बिर्सेको दिन कम्युनिस्ट आन्दोलन समाप्त हुने बताएका छन् । बिहिवार मनमोहन अधिकारीको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्सिन नसकिने बताए ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिन ९ बैशाखमा राष्ट्रिय सभागृहमा आयोजित एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रममा व्यानर निकालिएको प्रसंग निकाल्दै ओलीले भने,‘पार्टी स्थापनाका दिन हामीले देख्यौं केहि केटाकेटीलाई पुष्पलालको फोटो नहटाइ भएन किनभने त्यो हाम्रो होइन अरुको पार्टीको मान्छे भन्ने भयो, उनीहरुलाई हामीले अझै सम्झाउन, बुझाउन सकेका छैनौं, यसबाट झन्झट मानेर हुँदैन, उनीहरुलाई सम्झाउनुपर्छ ।’

उनले नेताको स्थानका विषयमा अनावश्यक चर्चा भएकाले एकतामा आशंका बढेको बताए । ‘पार्टी एकता हुँदा म कहाँ हुन्छु, मेरो महत्व कहाँ हुन्छ जस्ता अनावश्यक कुराले चर्चा पाउँदा जनतामा आशंका बढेको मात्रै हो’, ओलीले भने,‘पार्टी एकता गर्दा हामीले विचार पु¥याउनुपर्छ, अगाडिका हाम्रा अभिभारा र जनताप्रतिको कर्तव्यलाई ध्यान दिएर एकता हुन्छ ।’

उनले पार्टी एकता उपयुक्त हिसाबले हुने बताए । ‘पार्टी एकताले केहि नयाँ कुरा हुने होइन, सिमेन्ट सिमेन्ट नै हुन्छ, पानी पानी नै हुन्छ, गिटी गिटी नै हुन्छ, बालुवा बालुवानै हुन्छ तर ती सबैको मिश्रणले प्लाष्टर गर्दा त्यो बेग्लै हुन्छ, हामी त्यही सामग्रीबाट उपयुक्त मात्रा मिलाउँदै छौं’, उनले भने ।
ओलीले पञ्चायत कालमा कम्युनिस्ट भएर हिँड्नु अत्यन्तै कठोर हुने भन्दै त्यसबेलाको इतिहासलाई यथोचित सम्मान गर्नुपर्ने बताए ।

source:nayapatrika