शुक्रबार पार्टी एकतालाई अन्तिम रुप दिइन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भोलि (शुक्रबार) पार्टी एकतालाई अन्तिम रुप दिने बताएका छन् ।

कार्यकर्ता भेटघाटका लागि रौतहटको चन्द्रपुर पुगेका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएकोले शुक्रबार यसलाई अन्तिम रुप दिने बताए ।

उनले वाम गठबन्धनको मूल एजेन्डा सुशासन, स्थिरता र विकास भएको बताए । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरेका थिए ।

कार्यकर्ता भेटघाट कार्यक्रमपघि रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिवेलामा बाटोको शिलान्यास गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमा रौतहटले ऐतिहासिक भुमिका निर्वाह गरेको स्मरण गरे ।

कार्यक्रममा पूर्वसहरी विकास मन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपालमा जनयुद्ध सफल पार्न तथा गणतन्त्र स्थापनार्थ रौतहटले ठूलो भुमिका खेलेको बताउँदै विकास निर्माणको काममा पनि रौतहट देशकै पहिलो स्थान ओगट्ने बताए ।

SOURCE:NAYAPATRIKA