ओली/ दाहालबीच लगातार एकान्तवार्ता,माओवादी भन्छ- ओली पाँच वर्ष पीएम भए प्रचण्डलाई सीएम चाहिन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज निर्णायक वार्ता हुने भएको छ ।

पार्टी एकतालाई अन्तिम रुप दिन दुई अध्यक्षबीचको वार्ता आज साँझसम्ममा हुने माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार पार्टी एकताको अन्तिम धारणा बनाउन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले बेलुकासम्ममा दुई अध्यक्षबीचको निर्णायक वार्ता हुने बताए । 

माओवादी भन्छ- नम्सअनुसार एकता गर्नपर्छ
नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय विवादित भनिएका विषयहरु जनयुद्ध र एकीकृत पार्टीको चुनाव चिन्हको विषयमा सहमति जुटेको छ । नेताहरुका अनुसार एकीकृत पार्टीको झन्डा हँसिया हथौंडा, चुनाव चिन्ह सूर्य र जनयुद्ध महाधिवेशनमा टुंग्याउने सहमति भएको छ । पार्टी एकताका लागि दुई दलबीच केन्द्रीय कमिटीको बाँडफाँड र प्रचण्डको व्यवस्थापनमा चुनौती देखिएको छ ।

माओवादी केन्द्रका नेता मणि थापाले ओलीसँगको एकान्त वार्ता बस्नु अगाडि पार्टी अध्यक्ष प्रचण्डले शीर्ष नेताहरुसँग छलफल गरेको जानकारी दिए । "ओली-दाहालबीच आज एकान्त वार्ता हुँदैछ । आज अध्यक्षले हामीसँग छलफल गर्नुभएको थियो । हामीले माथिदेखि तलसम्म सम्मानजनक एकता गर्न अध्यक्षलाई सुझाव दिएका छौं । हामीले पावर सेयरिङमा सम्मानजनक हुनुपर्छ भनेका छौं । पछि हट्ने कुरा छैन ।" उनले एमाले अध्यक्ष केपी शर्मा ओली पाँच वर्षको लागि प्रधानमन्त्री हुने भए प्रचण्डलाई पाँच वर्षकै लागि अध्यक्ष पद दिनुपर्ने धारणासमेत राखे । "ओलीजी पाँच वर्ष पिएम हुने भए हामीलाई सीएम चाहिन्छ," थापाले थपे । 

माओवादी केन्द्रका अर्का एक नेताका अनुसार शीर्ष नेताहरुले आजको बैठकमा माओवादी अध्यक्ष दाहाललाई एमालेसँग महाधिवेशनपछाडिको अध्यक्ष अहिले नै फाइनल गर्न दबाब दिएका थिए ।

"महाधिवेशनको कुरा महाधिवेशनमा गर्ने कुरा त ठीक हो । तर, अहिले नै फाइनल गरेर जानुपर्छ । पार्टी एकताको लागि नम्स हो नि त अरु कुरा भन्दा पनि । नम्सअनुसार जानुपर्‍यो नि होइन ?" ती नेताले भने । 

ओली-दाहालको पाँच एकान्त वार्ता- एकअर्कालाई गलाउने रणनीति
पार्टी एकतामा केन्द्रीय कमिटी र प्रचण्डको व्यवस्थापनमा चुनौती देखिएपछि वार्ता अगाडि बढ्न सकेका छैनन् । दुई दलका अध्यक्षबीचको पटक-पटकको वार्ता निष्कर्षविहिन टुङ्गिँदै आएको छ । दुई अध्यक्ष एकअर्कालाई गलाउने रणनीतिमा रहेको बताइन्छ । 

पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय ९९ राख्ने प्रस्ताव गरे पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले अन्तिम रुप दिन सकेका छैनन् । पार्टी एकता संयोजन समितिले एकताको सम्पूर्ण जिम्मा दिएपछि ओली-दाहालबीच ५ पटक वार्ता भइसकेको छ । तर, ठोस निष्कर्ष निस्किन सकेको छैन । 

बिहीबार मनमोहन अधिकारीको १९ औं जन्मजयन्तिमा पनि ओलीले घुमाउरो पारामा पार्टी एकतामा केन्द्रीय कमिटी बाँडफाँडमा कुरा अड्किएको संकेत गर्दै एकतामा कसैले घमन्ड गर्न नहुने बताएका थिए । उनले एकताको लागि संख्यामा अड्किन नहुने तर्कसमेत अघि सारे । 

ओलीले भने, "बालुवा बालुवा नै हुन्छ, गिटी-गिटी नै हुन्छ । त्यसलाई एकता गरियो भने प्लास्टर हुन्छ । हामी त्यसै गरेर त्यही सामग्री प्रयोग गरेर एकता गर्दैछौं ।"

source:barahkhari