आज २५६२औँ बुद्धजयन्ती : शान्ति र्‍यालीमा प्रधानमन्त्री सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन् ।

लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका हुन् । र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट अाएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आजनै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
२५६२ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका छन् ।

‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

source:nayapatrika