किम्री गाउँमा आगलागी, १४ घर जलेर नष्ट, पानीको अभावमा आगो नियन्त्रण बाहिर

मुगु — मुगुमा कार्मारोङ्ग गाउँपालिका स्थित वडा नम्बर ४ किम्री गाउँमा बिहीबार बिहान ९ बजेतिर आगलागी हुँदा १४ वटा घर जलेर नष्ट भएको र अझै आगो नियन्त्रण हुन सकेको छैन ।

छिरिङ्गटासी लामाको घरबाट सल्किएको आगो जिक्टोल लामाको घर सम्मपुग्दा १४ वटा घर जलेर खरानी भएका छन् । पानीको समस्याले स्थानीयलाई आगो निमाउन कठिन भएको छ ।
 
अन्य घरमा आगो सल्किने क्रम जारी रहेको स्थानीयले जानकारी गराएका छन् । सदरमुकाम गमगढी देखि २ दिन टाढा किम्री गाउँमा आगो लागेको खबर प्राप्त भएपछि पुल प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए सञ्चारको समस्याले क्षतीको विवरण थाहा हुन नसकेको उनको भनाइ छ ।
source:kantipur