रामायण सर्किटमा जोडियो जनकपुर, के हो रामायण सर्किट ? नेपाललाई के फाइदा हुन्छ ?

काठमाडौं । नेपालको जनकपुर पनि अब रामायण सर्किटमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा हरियो झन्डा देखाएर जनकपुरबाट अयोध्या जाने बस सेवाको शुभारम्भ गरेका थिए । 

 

रामायण सर्किटमा अब जनकपुर भारतका अयोध्या, चित्रकुट, सीतामढि, दरभंगा, नन्दीग्राम, उडिसा, छत्तीसगढ, तेलंगाना, रामेश्वरम, महाराष्ट्र जोडिएका छन् । राम र सीताका पाउ जहाँ जहाँ पुगेका छन् त्यो सबै सर्किटमा जोड्ने रामायण सर्किटको मुख्य योजना रहेको छ ।

 

त्यसका लागि इन्डोनेसिया र श्रीलंका पनि जोडिनुपर्नेछ ।  भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार जनकपुरमा सम्बोधनका क्रममा  राम र सीताको पाइला परेको क्षेत्रलाई जोड्न यो सर्किटको योजना अघि सारिएको बताए ।
उनले अब बुध्द र जैन सर्किटमा ध्यान दिनुपर्ने बताएका थिए ।

 
 

 

नेपालको सीमा जोडिएका उत्तर प्रदेशका तीन स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा यसअघि नै विकास गर्ने घोषणा भारतले गरेको थियो । 

 

ती क्षेत्र हुन्– रामायण सर्किट, कृष्ण सर्किट र बुद्ध सर्किट । यी क्षेत्रको विकासका लागि नेपालको सहयोग अनिवार्य भएकाले भारतले यसअघि नै नेपालसँग प्रस्ताव गरेको थियो ।

 

“बुद्ध सर्किट र रामायण सर्किटमा भारत एक्लै र नेपाल एक्लैले पनि केही गर्न सक्दैन,” पर्यटन मन्त्रालय स्रोतले भन्यो, “त्यसैले यसमा दुई देशको उत्तिकै चासो छ, तयारी पनि त्यसैगरी गरिएको छ ।”

 

रामायण सर्किटमा भगवान श्रीरामसँग सम्बन्धित सबै कुराहरु दर्शाइने बताइएको छ । रामायण सर्किटमा नेपालको जनकपुर,  भारतको अयोध्या, चित्रकूट, तमिलनाडु तथा इन्डोनेसिया र श्रीलंकालाई समेत जोडिनेछ । 
तर श्रीलंकाले बृहत रामायण सर्किटको योजना अघि सारेको बताइएको छ ।

 

रामायण सर्किटमा भगवान श्रीरामको जीवनका तीन अध्यायलाई चित्रण गरिनेछ । भगवान श्रीरामको जन्म भारतको अयोध्यामा भएको थियो । उनको ससुराली तथा सीताको जन्मस्थान जनकपुरमा थियो भने श्रीलंकामा उनले रावणको वध गरेका थिए । यस सर्किटका माध्यमबाट पूरै रामायणलाई चित्रित गरिने यसको उद्देश्य छ ।

 

यसको केन्द्र भने नेपालको जनकपुरमा हुने पर्यटनमन्त्री रवीन्द्र अधिकारी बताउँछन् ।

 

रामायण सर्किटअन्तर्गत भारतले रामायण म्यूजियम पनि निर्माण गर्ने भएको छ । म्यूजियममा भगवान श्रीरामसँग जोडिएका जानकारीहरु उपलब्ध हुने बताइएको छ । 

 

भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले २४५ करोड रुपैयाँबराबरको परियोजनाको पहिलो चरणमा अयोध्याका लागि प्रस्ताव गरेको छ । यसका साथै चित्रकूट र श्रृंगवेरपुरको बीचमा पर्ने ११ स्थानका लागि पनि छुट्टै बजेट प्रस्ताव गरिएको छ । पौराणिक पात्र भगवान श्रीरामले वनबासका दौरान श्रीलंका जाँदा समय व्यतीत गरेका भनिएका महत्वपूर्ण धार्मिक स्थलहरुलाई पर्यटकीय दृष्टिकोणले विकसित गरिनेछ । 

 

अयोध्यामा कैयौं विकास योजनाहरु रामायण सर्किट परियोजनाअन्तर्गत प्रस्ताव गरिएका छन् । अयोध्यालाई जनकपुरसँग सडक मार्गबाट जोडिएको छ ।

 

दुवै देशका प्रधानमन्त्रीले जनकपुरदेखि अयोध्यासम्म बस सेवाको शुभारम्भ गरेका थिए ।

 

तर नेपालको पर्यटन मन्त्रालयले अयोध्या–जनकपुर ६ लेनको बाटो बनाउन प्रस्ताव गरेको थियो । “हामीले ६ लेनको बाटो बनाउन प्रस्ताव गरेका छौं,” पर्यटनमन्त्री अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भनेका थिए ।

 

जनकपुरबाट रामेश्वरमसम्म भगवान श्रीराम बनवास गएका मार्गका प्रमुख स्थलहरुलाई विकसित गर्ने परिकल्पना पनि रामायण सर्किट योजनामा रहेको छ । “नेपालले ६ लेनको बाटो बनाउने गरेको प्रस्तावप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एट (८) लेनको ह्वाइ नट ? भन्ने जवाफ आएको छ,” पर्यटन मन्त्रालय स्रोतले भन्यो ।

 

रामायण साहित्यअन्तर्गत राम, सीता, जनक, रावण, बाली, सुग्रीब हनुमान ‘कनेक्टिङ’ भएको बाटो भएकाले पनि धार्मिक पर्यटनमा यसले जोड पुग्ने नेपालको लक्ष्य छ । त्यसले नेपालका लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायतमा पनि धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ । “यसमा इन्डोनेसियाको बाली पनि पर्छ,” मन्त्री अधिकारीले भने, “श्रीलंकाको अशोक बाटिका, अयोध्या, जनकपुर जोडिन्छ । यसमा हवाई कनेक्टिभीटी, रेलमार्ग, रोड कनेक्टिभीटी पनि पर्छ । यसलाई हामीले प्रभावकारी रुपमा अघि बढाएका छौं । यसको केन्द्र जनकपुर नै हुन्छ ।”
उनले थपे, “नेपाललाई फाइदा धार्मिक पर्यटन नै हो । सीता जन्मेको भूमि भएकाले जनकपुरलाई महत्वका साथ अघि सारिएको हो । यसलाई हामीले बुद्ध, पशुपतिनाथ र मुक्तिनाथसँग पनि जोड्न सकिन्छ ।”

 

नेपालको जोड बुद्ध सर्किटमा पनि 

 

यसैबीच नेपालले बुद्ध सर्किटमा पनि अघि बढ्नेगरी तयारी अघि बढाएको छ । “हामीले बुद्ध सर्किटलाई पनि उत्तिकै जोड दिएका छौं,” मन्त्री अधिकारीले भने, “बुद्ध जन्मेको लुम्बिनी, मावली देवदह, रामग्राम, तिलौराकोट, बृहत् लुम्बिनीमै पर्छ । यसको विकासका लागि भारतलाई छुट्टयाएर पनि हुँदैन । भारतले पनि नेपालललाई छुट्टयाएर यो सर्किट पूरा गर्न सक्दैन । त्यसैले हामीले त यो सर्किटमा चीन, थाइल्याण्ड र श्रीलंकालाई पनि जोड्ने योजना बनाएका छौं ।”

 

भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो सम्बोधनका क्रममा अब बुध्द र जैन सर्किटलाई महत्व दिनुपर्ने बताएका थिए ।

Source:baarhakhari