मोदीको तिर्थ यात्रालाई सरकारले अकारण राष्ट्रिय भ्रमणको विशेषण जोड्यो : रमेशनाथ पाण्डे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण विशुद्व तिर्थ यात्रा थियो । नेपाल सरकारले अकारण यसलाई राष्ट्रिय भ्रमणको विशेषण जोड्यो ।

तर राष्ट्रिय भ्रमणमा अतिथीको स्वागत गर्दा अपनाउनुपर्ने अनुशासनको पालना भएन । यस भ्रमणबाट भारतले नेपालसँगको सम्बन्धको नविकरण गरेको छ । साथै, रामायणको शृंखलालाई जीवन्त बनाएको छ ।

तर नेपालले यस क्रममा त्यागकी मुर्ती सीताले शरण लिएको वाल्मीकीनगर र पृथ्वीको गर्भमा फर्किएकी त्रिवेणीलाई सम्मिलित गर्न सकेन । यस कारणले इतिहास अधुरो रह्यो ।

राजनीतिक दृष्टिमा नेपाल–भारतका बीच रहेका सबै असमझदारी हट्यो भनेर नेपालका प्रधानमन्त्रीले भन्नुभएको छ । तर, यस अघि दिल्लीमा भारतीय प्रधानमन्त्रीसँग ३ पटक एक्लै कुरा गर्दाको विवरण र काठमाडौँमा गरेको वार्ताको विवरणबारे जनतालाई जानकारी दिनुभएन ।

दुई प्रधानमन्त्रीबीच काठमाडौँमा भएको कुराकानी सबै महत्वपूर्ण भए होलान् तर वार्तापछि पत्रकार सामुन्ने बोल्न आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्सटेम्पर’ बोल्नुभयो र त्यहाँ भित्र बोल्दाको अभिव्यक्ति प्रतिबिम्वित भयो ।

तर, हाम्रा प्रधानमन्त्रीले वार्ता सुरु हुनुभन्दा धेरै अगाडि नै अंग्रेजी भाषामा लेखिएको वक्तव्य पढेर सुनाउनुभयो जसमा वार्ता कालमा भएका कुराको प्रतिबिम्वन पाइएन ।

भारतले नेपालका उत्तरी अथवा दक्षिणी दुवै भेगका जनतासँग सम्बन्ध स्थापित गर्ने अवसर पायो । तर संघीयतामा गएपछि केन्द्रको र प्रदेशको व्यवहार कसरी तारतम्य मिलाउने भन्ने बारेमा नेपाल चुक्यो ।

एउटा पाहुनालाई जनकपुरमा मुख्यमन्त्रीबाट नागरिक अभिनन्दन गरियो । मुस्ताङमा अभिनन्दन गरिएन तर काठमाडौंमा मेयरद्वारा अभिनन्दन गरियो । यस्तो कार्यले राज्य सञ्चालन तथा संघीयताको अभ्यासमा परिपक्वता देखिदैन ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा व्यक्त भावनाहरुले केन्द्र सरकारले परराष्ट्र नीति, परराष्ट्र सम्वन्ध र कुटनीति सञ्चालन कसले गर्ने अथवा जिम्मेवारी को हो भन्ने कुरा अन्योलनमा पा¥यो । त्यसको दुस्परिणाम नेपालले भविष्यमा भोग्नुपर्नेछ ।

नेपाल र भारतका दुई सरकारका बीच त मन मिलेजस्तो देखियो तर जनस्तरमा नाकाबन्दीले लगाएको घाउ भने निको भएको रहेनछ भन्नेपनि देखियो । जनताको भावनाप्रति सरकार संवेदनशील देखिएन ।

जनकपुरमा विखण्डनकारी प्लेकार्ड लेखिएको ब्यानर पदर्शन गर्न दिने तर काठमाडौँमा एउटा पार्टी अफिसमा नाकाबन्दीको पीडा सम्झिदा झिकेर फ्यालदिने ? नाकाबन्दीले जनस्तरमा लगाएको घाउँ निको नभएकाले सामाजिक सञ्जालमा आलोचना भएको हो ।

(पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेसँग सन्तोष भट्टराईले गरेको संक्षिप्त कुराकानी)

source:enayapatrika