प्रधानमन्त्रीले स्वीकारे मोदी भ्रमणमा मुख्यमन्त्रीबाट भएको 'कुटनीतिक कमजोरी'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कुटनीतिक र राष्ट्रिय मर्यादाको कसीमा कतिपय कमजोरी भएको स्वीकार गरेका छन्। मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानाकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्रीले जनकपुरमा दिएको मनतब्य 'अनुपयुक्त' र कमजोरीपूर्ण भएको बताएका हुन्।

प्रधानमन्त्रीले स्पष्ट नभने पनि समकक्षी मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भाषणका क्रममा व्यक्त गरेको अभिव्यक्तिलाई उनले संकेत गरेको देखिन्छ।

'उहाँको जनकपुरमा नागरिक अभिनन्दन भयो। अलिक राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसीमा कमजोरी र अनुपयुक्त रहेको पनि देखियो, त्यो सबैलाई थाहा छ', प्रधानमन्त्रीले भने, 'ती नेपाल सरकारको नीति होइनन्, परारष्ट्र सम्बन्ध संचालनका स्पष्ट धारणाहरू हामीसँग छँदैछन्।'

मोदीको भ्रमणको पहिलो दिन शुक्रबार जनकपुरमा भएको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई सम्बोधन गर्दै 'मधेसको संघर्ष अझै पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि भएको' अभिव्यक्ति दिएका थिए।

मुख्यमन्त्री राउतले 'प्रदेश २ आर्थिक रुपमा पिछडिएको, मधेसीमाथि राज्यको विभेदकारी नीति, पूर्वाग्रह र विद्वेशपूर्ण मानसिकताका कारण तुलनात्मक रुपमा मधेसबासीहरू गरिवी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जिउन विवश रहेको, मधेसको संघर्ष अझै पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि भएको' लगायतका अभिव्यक्ति दिएका थिए। मुख्यमन्त्री राउतको अभिव्यक्तिको सार्वजनिक रुपमा पनि आलोचना भइरहेको छ।

के भनेका थिए मुख्यमन्त्री राउतले ? पढ्नुस्ः मोदीसँग मुख्यमन्त्री राउतको गुनासो: राज्यले हेपेर गरिब र पीडित भयौँ

प्रधानमन्त्रीले संसद अधिवेशन बन्द भइसकेकोले भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बारेमा समयमा जानकारी दिन नसकेको पनि जानकारी गराएका छन्।

खबरदारीका लागि धन्यवाद

प्रधानमन्त्रीले यसबीचमा पुराना कमजोरी नदोर्‍याउन भएका खबरदारीका लागि धन्यवाद दिएका छन्। 'नेपाली जनताको देशभक्तिलाई अत्यन्त प्रसंसा गर्न चाहन्छु। धन्यवाद भन्न चाहन्छु', प्रधानमन्त्रीले भने, 'सरकारलाई लगातार गल्ती नहोस्, कमीकमजोरी नहोस्, चुक्ने काम नहोस्, विगतका कमीहरू सच्याउने काम होस् भनेर लगातार खबरदारी गर्ने काम नेपाली जनताबाट भयो। मिडिया र बुद्धिजीवीको गहन सरोकार रह्‍यो। अत्यन्त सकारात्मक रुपमा लिएको छु।'

प्रधानमन्त्रीले 'राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय हीत र स्वाभिमानप्रति सजग नरहे कुनै पनि कुरालाई बचाउन सक्ने अवस्थामा नरहेको' संसदमा बताए। 'नेपाली जनताको जागरुकताले नै यी कुराले सवल बनाउने हो', उनले भने। 

source:annapurana