चिसियो सम्बन्ध–ओली ‘स्वेच्छाचारी’ बन्दै गएको माओवादी आरोप

काठमाडौँ । सचिव सरुवा, बजेट विनियोजनमा एकीकरण उन्मुख पार्टीको हिसाबले होइन सत्ता–साझेदार पार्टीको हैसियतले समेत छलफल नगरिएको भन्दै चिसिँदै गएको एमाले–माओवादी सम्बन्धलाई मोदीको आगमनले थप शंकातिर घँचेटिदिएको छ ।
सल्लाहै नगरी भारत भ्रमणमा जान चटारिएका ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सल्लाह नै नगरी बोलाएको माओवादीले गुनासो गर्दै आएको छ ।

 

त्यसपछि पनि मोदीका काठमाडौंमा भएका कार्यक्रममा माओवादीलाई बेवास्ता गरिएको आरोप माओवादीको छ । माओवादीका एकजना नेताको शब्दमा ‘हामीलाई एमाले र मोदीले हेर्ने धारणा एउटै’ देखिएको छ ।  
माओवादी केन्द्रका एक प्रभावशाली नेताले ओलीको कार्यशैली ‘स्वेच्छाचारी’ हुँदै गएको आरोप लगाए ।

 

त्यसो त यो आरोप एमालेभित्र पनि उठ्ने गरेको छ । ओलीले एमालेले नेतृत्व गरेका मन्त्रालयमात्रै होइन, माओवादीले जिम्मेवारी सम्हालेका मन्त्रालयका काममासमेत ‘हस्तक्षेप’ गर्न थालेको र यसले एकतालाई पर धकेल्न बल पुर्‍याएको तर्क गर्न थालिएको छ ।

 
 

 

“ओली सरकारको नेतृत्वमा रहेर पनि पार्टीभित्र आफ्नै गुट चलाएको जस्तै सोचिराख्नुभएको छ । दुई पार्टीको भावना र दुवै पार्टीको स्प्रिटलाई यो सरकारले बोक्नुपर्दछ । उहाँ एमालेको नेतृत्वमा भएकाले पार्टीभित्र छलफल गरिरहनु नपर्ला । तर, माओवादीसमेतको निर्णय आफैँ गरिदिनुभएन नि !,” एमालेका एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने ।

 

उनले एमाले अध्यक्ष ओलीमा सरकार गठनभएयता ‘मनोमालिन्यता’ बढेको र त्यसले गठनबन्धनको भावना, संस्कृति र मर्मलाई बोक्न नसक्ने स्पष्ट पारे ।

 

ज्ञवाली भन्छन्, दुई अध्यक्ष बसेर मिलाउनुहोस्
 

 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली एकीकरण प्रक्रियाको सम्पूर्ण जिम्मेवारी दुई अध्यक्षको काँधमा आइसकेकाले उहाँहरूले शीघ्रातिशीघ्र बसेर नमिलेका विषय टुंग्याउनु पर्ने जिकिर गर्छन् ।
“बाहिर भन्दा केही बाँकी छैन भन्नुहुन्छ, नमिलेको के हो ? त्यो चाँडो सल्ट्याउनुहोस्,” उनको आग्रह थियो ।

 

उनले उल्झन् साँघुरिँदै गएकाले यथाशीघ्र एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्ने तर्क गर्छन् ।

 

यता माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल भने अहिले एमाले–माओवादीबीचको एकता प्रक्रिया आंशकाको घेराबन्दीमा परेको बताउँछन् । “प्रधानमन्त्रीको कार्यशैली अलि सल्लाह नगर्ने किसिमको छ, यी सबै कुरा मिलाएर एकता गर्नुपर्छ,” उनले भने ।
उनले नेतृत्व र संगठनात्मक अजस्थामै छलफल अड्किएको र मोदीको आगमनले एकता प्रक्रियालाई थप पर धकेलिएको जानकारी दिए ।
“पछिल्लो समय खासै छलफल हुन पाएको छैन, मोदीको भ्रमण सकिएको छ, अब छलफल होला,” उनले भने ।

 

शक्ति केन्द्रको प्रभाव त छैन ?
 

 

एमाले–माओवादीबीच चुनावी तालमेल र जारी एकता प्रक्रिया दुई पार्टीको बल–वुद्धिमा भएको होइन । यसपछाडि शक्ति केन्द्रको हात छ । बाह्रखरीसँगको कुराकानीमा एमालेका एक प्रभावशाली नेताले ‘चिनियाँ नेताहरूको विशेष चासो रहेको’ अर्थ्याएका थिए ।
तर, प्रधानमन्त्री केपी ओलीको भारत–रिझ्याइँले कतै एकता प्रक्रिया अन्यौलमा पर्छ कि भन्ने माओवादीको आशंका छ । 

 

“एमालेको पछिल्लो समय गतिविधि एकदमै शंकास्पद छ । दुवै पार्टीको नेतृत्वमा सरकार भइसकेपछि प्रधानमन्त्रीजीले कुनै पनि विषयमा छलफल नगरी अगाडि बढ्नुभएको छ । ओलीजीले भारत भ्रमण जानुअघि एकलौटी निर्णयमा सचिव सरुवा गर्नुभयो    । त्यसले माओवादीलाई झस्कायो । ओलीजी भारतबाट फर्किसकेपछि झन् दम्भ पलायो । बजेट बनाउँदा माओवादीलाई बेवास्ता गरिएको छ । दर्जनौं एकलौटी निर्णयले एमालेलाई माओवादी केन्द्रले विश्वास गर्न सकेको छैन,” माओवादी केन्द्रका नेता मणि थापाको गुनासो थियो ।
तर एमाले उपाध्यक्ष ज्ञवालीले यति नै कुराले एकता नरोकिने प्रष्ट पार्छन् । समस्या आएको हो भने जहाँ समस्या देखिएको छ, बसेर कुरा गर्नुपर्छ । यसैलाई कारण देखाएकार एकताबाट पन्छन मिल्दैन,” उनको भनाइ थियो ।  

 

राजनीतिमा नेतृत्वका अभिव्यक्त विचारले भन्दा पनि घटनाक्रमले मात्रै पुष्टि गर्छ । शनिबार राजधानीमा काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन ग¥यो । जनस्तरबाट त्यसको व्यापक विरोध भयो । त्यसको चाल पाएको माओवादी केन्द्र अभिनन्दन कार्यक्रममा सामेर भएन । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरू गएनन् ।

 

त्यस्तै शुक्रबारै ९०० मेगावाटको अरुण तेस्रो शिलान्यासमा माओवादी केन्द्रबाट ऊर्जा मन्त्रालय सम्हालेका वर्षमान पुनलाईसमेत बोलाइएन । एकपछि अर्को परिघटनाबाट आशंकित बनेको माओवादीलाई यसले ‘आगामा घ्यू थपे’झैँ बनाइदिएको छ । 

 

किन बोलाइएन ऊर्जामन्त्रीलाई ?

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यो कुनै ‘इस्यु’ नभएको बताउँछन् । प्रधानमन्त्रीको नियत त्यस्तै नभएको र त्यसका सबैलाई बोलाएर  कार्यक्रमसहित शिलान्यास गर्ने कार्यक्रम नभएको उनको प्रष्टोक्ति थियो ।
“म पनि त्यहीँ थिएँ । त्यहाँ अरू कसैलाई पनि बोलाइएको थिएन । दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममात्रै थियो,” उनको भनाइ थियो ।
उनले कार्यकर्ता तहबाट त्यस्तो कुरा आए पनि ‘अफिसियल्ली’ धारणा त्यस्तो नरहेको जिकिर गरे ।

 

गोप्य सहमति छैन 
 

 

एमाले नेता सुवासचन्द्र नेम्वाङले भारतसँग कुनै १६ बुँदेबाहेक कुनै गोप्य सन्धी–सम्झौता नभएको जिकिर गर्दै सम्बन्ध सुधारको भ्रमणका रूपमा चित्रित गरे । “मोदीको आगमनले दुईदेश बीचको सम्बन्धलाई मजवुत तुल्याएको छ । यसले जारी एकता प्रक्रियालाई कुनै असर पुर्‍याउँदैन ।
उनले एमाले–माओवादीबीच कुनै आशंका नरहेको बताउँदै दुई अध्यक्षबीच निरन्तर सम्वाद भइरहेको जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि भ्रमणका विषयमा अतिरञ्जना गरिएको भन्दै दुई देशबीचको सम्बन्ध सुधारको प्रक्रियालाई अनावश्यक चर्चा गरिरहनु नहुने बताए ।

 

उनले शनिबार पनि दुई अध्यक्षबीच एकान्त–वार्ता भएको बताउँदै एकताबारे छलफल नरोकिएको बताए ।

Source:Baarhakhari