अध्यक्ष दाहालले भनेः अब एमाले र माओवादी खोजेर पनि भेटिँदैनन्

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोजेर पनि नभेटिने बताएका छन् । 

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब पानीमा हाइड्रोडन र अक्सिजन नभेटिएजस्तै कम्युनिस्ट पार्टीमा एमाले र माओवादी खोजेर नभेटिने घोषणा गरे । 

‘पानीभित्र हाइड्रोडन र अक्सिजन छुट्याउन खोजेर पाइँदैन । अब यो कम्युनिष्ट पार्टीमा एमाले र माओवादी खोजेर पाइँदैन । आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर हामी गयौँ भने यो यस्तो तागत बन्नेवाला छ जनतालाई चाहिएको समृद्धि र विकास दिने छ’, दाहालले भने, ‘योसँगै आत्मासम्मान दिने कुरामा पनि हामी लागेका छौँ । नेपाली भएर बाँच्नु र काम गर्नुको गौरव यसले प्रदान गर्ने छ । यसको मूल्यांकन इतिहासमा धेरै परसम्म गर्दै जान्छ ।’ 

उनले सम्बोधनका क्रममा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीलाई फेरि एकीकृत गर्ने यो अवस्थामा आइपुगेको असाफूलाई गौरव लागेको पनि बताए । 

‘आजको दिन एकीकृत पार्टी नेकपाको रुपमा घोषणा गरेका छौँ । एतिहासिक दिन जेठ ३ गते हुन आएको छ । कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति सम्मान व्यक्त गर्न चाहन्छु’, दाहालले भने, ‘जेठ ३ गते नै एकता घोषणा गरौँ भन्ने प्रस्ताव गर्ने पात्र भएको पनि महसुस गर्छु ।’ 

उनले एकता घोषणा क्रममा जनयुद्धका योद्धालाई सम्झिए । ‘जनयुद्धका योद्धाप्रति सम्मान गर्न चाहन्छु,’, उनले भने, ‘सबै आन्दोलनमा घाइते भएका योद्धाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ 

दाहालले सभालाई सम्बोधन गर्दा शब्द पनि नभएको बताए । ‘यो सभालाई सम्बोधन गर्ने शब्द अभावको महसुस भएको छ । ठूलो बहसमार्फत् विकसित विकासलाई अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने दृष्टिले अन्तराष्ट्रिय राजनीतिमा पनि नेपालमा विकास र स्थिरताका लागि गम्भीर सन्देश दिन सक्छौँ’, दाहालले भने, ‘२०४६ सालको जनआन्दोलन, जसले नयाँ परिस्थिति सिर्जना गर्यो र हामी आज यो अवस्थामा आइपुगेका छौँ ।’

सामन्तावाद, निरंकुशताविरुद्ध सबै लोकतान्त्रिक र कम्युनिस्ट शक्ति एकतार्फ आउनुपर्छ भन्ने मान्यता स्थापित गरेकै कारण आज यो अवस्थामा आइपुगेको बताए । ‘हामी एक भयौँ र आम जनताको चाहना अनुसार हामी सफल भयौँ । सबै वाम एकठाउँ जुटुन् भन्ने जनताको भावना थियो’, उनले भने, ‘तर, कम्युनिस्ट विभाजित थिए । पञ्चायतविरुद्ध भएको सघर्षका क्रममा जनताको चाहना राजनीतिक नेतृत्वको दिमागमा विस्तारै गढ्दै गयो । र पञ्चायती निरंकुशलताको अन्त्य भयो ।’

उनले सम्बोधनका क्रममा पटक पटक मदन भण्डारीलाई सम्झिए । ‘फेरि एक पटक मदन भण्डारीलाई सम्झन चाहन्छु । त्यतिबेला पनि माओवादी र एमालेबीच एकता सम्भव छ भन्नुभएको थियो । तर, त्यो उहाँको सपना उहाँको बलिदानले ऊर्जाशील भयो, त्यही बलिदानको उपजको रुपमा यो एकता सम्भव भएको हो’, दाहालले भने, ‘हामी निरन्तर एकीकरण र सहकार्य गर्दै आयौँ । हामीले वैचारिक संघार्षका सबै उतार चढाव सामाना गर्दै आयौँ ।’ 

दाहालले अब नेपालले अस्थिरता थेग्न नसक्ने बताए । ‘अब यो देशले यो भन्दा बढी राजनीतिक अस्थिरता र राजनीतिक अराजकता थेग्न सक्दैन । अब पनि यस्तै छुट दिए हामी कम्युनिस्ट नेता हुनुको औचित्य समाप्त हुन्छ भनेर एकताको पहल हामीले यही मञ्चबाट गरेका थियौँ’, उनले भने, ‘यो कसैतर्फ परिलक्षित नभएर नेपाली जनता र राष्ट्रको लक्ष्यका लागि मात्र केन्द्रित छ । निर्वाचनको दौडानमा हामीले एकता घोषणा गरेर एकसाथ अघि बढ्यौँ ।’ 

दाहालले एकता अघि बढ्दा उठेका प्रश्न बारे पनि बोले । ‘कतिपय स्थापित कलाकारले त केपी ओली र मैले भाषण गर्दै गर्दा म बधाई दिन्न, जुन दिन एकता हुन्छ त्यही दिन दिन्छु भन्नु भएको थियो’, उनले भने, ‘उतारचढाव थिए । विकासको नियम प्रकृति, चिन्तन र राजनीतिमा घुम्ती मोड हुनु र संघर्ष हुनु स्वभाविक छ ।
 
अध्यक्ष दाहालले एमालेसँगको एकताका क्रममा घुम्ती र मोडमा दृढताकासाथ जनताका अगाडि आफूहरु पनि उभिएको बताए । उनले एकताको पछाडि फर्किने पुल भत्काएर आएका पनि बताए । ‘ओलीजीले यहीँ उभिएर खुट्टा काटेर भए पनि जुत्ता मिलाइन्छ भन्नु भएको थियो’, दाहालले भने, ‘जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गरेका छौँ । जनता र आमकार्यकर्ताप्रति बधाई तथा शुभकामना भन्न चाहन्छु । मुख्य उदेश्य र चाहना जनतालाई खुशी बनाउनु र राष्ट्रलाई स्वाधीन बनाउनु नै हो । अन्नत सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ जनतालाई समाजवादतर्फ लानु हो ।’ 

उनले जनतालाई दिएको विश्वासबाट आफूहरु विचलित नहुने पनि बताए । ‘विश्वास दिलाउन चान्छु, ः हामी जनतासामू गरेको प्रतिबद्धताबाट विचलित हुन जाँदैनौँ’, उनले थपे, ‘अब स्थिरता र सुसासनको नयाँ युग सुरु भयो । यो संकल्प गर्छु ।’ 

केही वर्षदेखि कम्युनिष्टको विचार मूल्य मान्यतामा कहीँ न कहीँ स्खलन हुँदै आएको बताए । ‘व्यक्तिगत स्वार्थ बढ्दै गएको दुःखद अवस्था सिर्जना हुँदै गएको छ । आज हामीले संकल्प गर्नु परेको छ’, उनले भने, ‘इतिहासमा कम्युनिष्टले ठूलो बलिदान गरे । संसार हल्लाए । तर, सत्तामा पुगेपछि यति स्खलित र आदर्शहीन भए । तिनलाई जनताले पिटिपिटी मार्नुपर्ने नेता भए । हामीले संकल्प गर्नै पर्छ । हामी आदर्शको निम्ति समर्पित हुने नयाँ ढंगको कम्युनिष्ट पार्टी हुनुपर्छ ।’ 

२१ औँं शताब्दीका सम्भावना र चुनौतीलाई बुझ्न सक्ने एउटा नयाँ कम्युनिस्ट पार्टी निरन्तर जनताको पार्टी बन्नुपर्नेमा पनि उनले जोड दिए । ‘जनताप्रति समर्पित हुनु बाहेक कम्युनिष्ट हुनुको कुनै औचित्य छैन । कम्युनिष्ट आदर्शप्रति नयाँ संकल्प लिन आग्रह गर्दछु’, दाहालले अगाडि थपे, ‘६० नाँघेका नेता छौँ । पञ्चायत र भूमिगतकाल सम्झिन्छौँ । जनताको सेवाका निम्ति भोकै, अनिदो भएर एक दुई दिन होइन पाँच वर्ष होइन दश वर्ष होइन २० औँ वर्ष हिड्यौँ ।’ 

सम्बोधनका क्रममा युद्धका बेला मर्न तयार भएका कार्यकर्ता पनि सम्झिए । ‘युद्धका बेला म मर्न अगाडि जान पाऔँ भन्ने पनि हुनुहुन्थ्यो’, उनले भने, ‘तर, अहिले म सांसद हुनै पर्यो, म मन्त्री बन्नै पर्यो, म प्रधानमन्त्री हुनै पर्यो भन्ने देखिन्छ । यसको बीऊ नै निमिट्यानन पारेर कम्युनिस्ट बन्ने हो ।’ 

यो एकता जनताको निम्ति सुख दिन भएको पनि दाहालले बताए । ‘मैले निर्वाचनको घोषणा गर्दै गर्दा विकास समृद्धि र समाजवादको आधार तयार पार्न हो भनेको छु । जनताले मलाई नेताको ठाउँमा राखेको छ । मैले मदन भण्डारी र सहिदप्रति सम्मान गर्दै गर्दा भनेको थिएँ। इतिहासको निर्माण त जनसमुदायले बनाउने हो’, दाहालले थपे, ‘सोही क्रममा प्रतिनिधि तथा नेता तय गर्छन् र ती नेताले जनताको सेवा गर्ने एतिहासिक अवसर प्राप्त गर्छन् । आज हामी फेरि एक पटक एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्वको रुपमा जनताको सेवा गर्ने अवसरको रुपमा लिएको छु ।’ 

मानिसको चिन्तन र दर्शन सुधारात्मक प्रक्रियाले मात्र हुँदैन सुधारका क्रममा ठूलो फड्को आउने पनि उनले बताए । ‘प्रकृतिमा पनि नयाँ फड्को हुन्छ । २०१९ सालबाट विभाजनको पीडा भोगेको कम्युनिष्ट आन्दोलन एउटा छलाङ गुणत्मक फड्कोमा परिणत भएको छ । राष्ट्र र जनताको पक्षमा लग्ने संकल्प गर्नुपर्छ’, दाहालले थपे ।

उनले आफ्नो जीवनलाई पनि सम्झिए । ‘मेरो आफ्नै कुरा गर्दा मेरो जीवन निरन्तरतामा क्रमभंगता गर्ने नै भयो । कमजोरी हुँदा जनता र देशले दुःख पाएको देख्छु’, दाहालले भने, ‘जनयुद्धको क्रम, शान्तिसम्झौता, संघीइता, नयाँ संविधान समावेशिता यी तमाम चिज निरन्तरताका क्रम भंगता हुँदै आएका हुन् । यो पार्टी एकता नितान्त गुणात्मक छ । एउटा महान छलाङ हामीले हानेका छौँ ।’ 

source:annapurna