प्रधानमन्त्रीको सम्पति ४२ लाख रुपैयाँ, घरजग्गा तथा अन्य सम्पति पत्नी राधिकाको स्वआर्जन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पति आफ्नो नाममा जम्मा ४२ लाख रुपैयाँ मात्र देखिएको छ । घरजग्गा तथा अन्य सम्पति पत्नी राधिका शाक्यको स्वाआर्जन रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।

 

 
प्रधानमन्त्री कार्यालयको वेवसाइटमा बुधबार सार्वजनिक गरिएको सम्पति विवरण अनुसार उक्त सम्पति सार्वजनिक गरिएको हो। प्रधानमन्त्री ओलीले बुझाएको सम्पति विवरण अनुसार प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकस्थित खातामा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ। उक्त रकम तलब भत्ताबाट प्राप्त भएको पनि बताइएको छ।
 
त्यसैगरी प्रधानमन्त्री पत्नी शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ नगद मौज्दात देखिएको छ भने राष्ट्रिय वचत पत्र २५ लाख रुपैयाँ रहेको छ। यसलाई शाक्यले स्वआर्जन बताएकी छन्। उनले कैफियतमा आफु राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी रहेको उल्लेख गरेकी छन्।
 
सुन गरगहना १७ –१८ तोला उल्लेख छ। त्यस्तै शाक्यकै नाममा भक्तपुरको सुर्यविनायक – २ मा एक रोपनी र आधा रोपनी जग्गा तथा तीन तलको घर र झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा स्वआर्जनबाट जोडेको उल्लेख छ।
 
source:kantipur