विद्यार्थीले चाहेर पनि कृषि शिक्षा पढ्न पाउँदैनन् !

कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् । नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ ।

प्रवेश परीक्षा उत्तीर्ण भएर पनि उनीहरुले कृषि शिक्षा पढ्न पाउँदैनन् । त्रिभुवन विश्वविद्यालयले ४ सय कृषि तथा वन विज्ञान विश्वविद्यालयले ३ सय ६५ र पूर्वाञ्चल विश्वविद्यालयले २ सय ४० विद्यार्थीलाई वार्षिक रुपमा कृषि विषय पढाउँदै आएका छन् ।

हाल तीनवटै विश्वविद्यालयमा गरी एक सय ४८ जनाले स्नातक भेटेनरी र १६ जनाले मत्स्यविज्ञान (फिसरिज) पढ्दै आएका छन् । यी दुई संकायमा पनि पढ्न चाहनेको संख्या निकै बढी भए पनि न्यून संख्याले मात्रै पढ्ने अवसर पाउने गरेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालका अनुसार यस विश्वविद्यालयको रामपुरमा १६५, कास्कीको पुरनचौरमा ५०, धनकुटाको पाख्रिबासमा ५०, सिन्धुलीको दुधौलीमा ५० र कैलालीको टीकापुरमा ५० गरी ३६५ विद्यार्थीलाई कृषिमा स्नातकको शिक्षा दिइँदै आएको छ भने भेटेनरीमा ५० र मत्स्य विज्ञानमा १६ जनालाई रामपुरमा पढाइँदै आएको छ ।

उनका अनुसार कृषि स्नातकमा ४ हजार र भेटनरीमा २ हजार २ सय जनाको आवेदन गत शैक्षिकसत्रमा परेको थियो । कृषि शिक्षा पढ्न चाहने विद्यार्थीको संख्या अत्यधिक भएकाले थप १० आंगिक क्याम्पस र थप १० निजी क्याम्पसलाई सम्बन्धन दिने तयारीमा आफूहरू लागेको उनले बताए । अहिले पढिरहेका विद्यार्थी संख्या चारदेखि पाँच गुणा थप्नु पर्ने उपकुलपति ढकालको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयको कृषि संकायका डिन केशव अधिकारीका अनुसार सो विश्वविद्यालयले कृषि स्नातकमा लम्जुङको सुन्दरबजारमा सय जना , कपिलवस्तुको पक्लिहवामा ५० जना, चितवनको खैरहनीमा ५० जना, झापामा ५० जना, दाङमा सय जना र बैतडीमा ५० जना गरी ४ सय विद्यार्थीलाई पढाउँदै आएको छ । पक्लिहवामा ५० जनाका लागि भेटनेरी स्नातकको पढाइ हुँदै आएको छ ।

उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाले कृषि शिक्षामा सरकारले लगानी गर्न नसक्दा विद्यार्थीले चाहेर पनि पढ्न नपाएको बताए । उनले कृषि प्रधान देशमा सरकारी लगानी कृषि शिक्षामा हुन सके कृषिको व्यवसायीकरण गरी उत्पादन बढाउन सकिने बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरेले ६५ प्रतिशत किसान भएको नेपालमा कृषिले अर्थतन्त्रमा एक तिहाइ हिस्सा ओगटेको भन्दै अब कृषि शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिए ।

हाल विश्वमा रहेका सात अर्ब जनसंख्या सन् २०५० सम्ममा पुग्दा १० अर्ब पुग्ने भन्दै उनले जमिन नबढ्ने जनसंख्या बढ्ने हुँदा उत्पादनलाई आधुनिकीकरणतर्फ नलगे मानिसलाई खाद्यान्न पु¥याउन नसक्ने भएकाले कृषि शिक्षाको महत्व अझै बढ्दै जाने बताए ।

source:enayapatrika