एउटै खुट्टाले कैलालीदेखि रारा तालसम्म साइकल यात्रा

कालिकोटः कैलालीको लम्की चुहा नगरपालिकादेखि कर्णाली प्रदेशको मुगु रारा तालसम्म साइकल यात्रामा रहेका फरक क्षमताका यमलाल रसाइली आइतबार कालिकोट पुगेका छन् । 

उनले कैलालीको लम्कीबाट ८ दिनअघि अर्थात् जेठ ४ गते सुरु गरेको यात्रा रारा तालसम्म साइकलमै जारी छ । उनको दाँयाँ खुट्टा छैन । बाँया खुट्टाले मात्र साइकल चलाउदै आइतबार कालिकोटको सदरमुकाम मान्ममा निकै उत्साहित भएर साइकल गुडाउँदै मुगुको बाटो लागे । 

उनी कालिकोट सदरमुकामस्थित चन्द्रसूर्य होटलको अगाडिबाट एक खुट्टाले साइकल चलाएर अगाडि बढ्दै गर्दा स्थानीय नागरिक पनि मख्ख परेर हेरिरहेका थिए । 

साइकल चलाउने उनको गति र साहास देख्ने सबै चकित भएका थिए । उनले साइकल पछाडि आफुलाई आवश्यक सामान हालेको झोला पनि सँगै बोकेका छन् । 

पहिलो पटक राराको भ्रमण गर्ने आन्तरिक पर्यटककारुपमा आएका रसाइलीले लम्कीदेखि कालिकोटसम्मको यात्रा निकै रमाइलो भएको बताए । ‘हामी विदेशका ठाँउ घुम्न चाहान्छौँ तर नजिकैको कर्णाली (जो निकै रमणिय रहेछ) लाई नजिकको तीर्थ हेला गरेर बसेका रहेछौँ ।’

उनले सामान्य ओटाशील गरिएको कर्णाली राजमार्गको ठुला ठुला खाल्डा छिचोल्नु परे पनि यात्रा गर्न सहज भएको बताए । ‘कर्णाली प्रदेश सरकारले यो वर्षलाई रारा पर्यटन वर्षका रुपमा बनाउने निर्णयसँगै सबै पर्यटकहरुलाई आह्वान गरेकाले यो योजना सफल होस भन्ने उद्देश्यले साइकल यात्रा गर्न चाहेको हुँ’, उनले भने । 

उनले रारा घुम्न आउन चाहने आन्तरिक पर्यटकहरु कर्णाली राजमार्ग निकै जटिल रहेको भ्रममा परेर यात्रा रोक्ने गरेको बताउँदै आफुले सुने अनुसार कर्णाली राजमार्गको यात्रा जटिल नरहेको बताए ।

source:annapurna