काम लागेन सोर्सफोर्स: एकै पटक ८० जना अधिकृत दुर्गममा खटाइयो

काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाइल वढुवा भएर आएका  ८० जना शाखा अधिकृतलाई एकै पटक विभिन्न स्थानीय तहमा खटाएको छ । विशेष गरी प्रदेश नं ६ र ७ का दुर्गम जिल्ला  तथा प्रदेश नं २ का स्थानीय तहका रिक्त स्थानमा ती अधिकृतलाई खटाइएको हो । 

उनीहरु सबैजना फाइल बढुवा भएर लोकसेवा आयोगवाट शुक्रवार साँझ  सिफारिस भई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका थिए । सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भई आएलगत्तै एकै दिनमा उनीहरु सवैलाई स्थानीय तहमा खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए । 

लोकसेवा आयोगबाट सिफारिस भएर आएपछि कर्मचारीहरुले राम्रो र सुगम ठाउँमा जान उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको सोर्सफोर्स नै प्रयोग गर्ने गरेका छन् । त्यसरी सोर्सफोर्स लगाउने परिपार्टीका कारण सामान्य प्रशासन मन्त्रालयलाई समयमा नै कर्मचारीलाई नियुक्ति दिएर पदस्थापन गर्न निकै समस्या पर्ने गरेको थियो ।

तर यस पटक भने लोकसेवा आयोगबाट सिफारिस भएर आएको पर्सीपल्ट नै सवै कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गरी आइतवार नै सबैलाई चिठी नै दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बढुवा भएका शाखा अधिकृतलाई पदस्थापन गर्दा उनीहरुको पीआईएसको आधारमा सकेसम्म घरपायक तथा घर नजिकैको जिल्लामा खटाइएको छ । 

दुर्गम जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव हुँदा अझै पनि ती तहले प्रभावकारी काम सम्पन्न गर्न सकेका छैनन् । संघीय मामिला मन्त्रालयमा दुर्गम जिल्लाबाट बारम्बाार कर्मचारीको माग हुँदै आएकाले मन्त्री पण्डितले आइतबार सवै ८० शाखा अधिकृतलाई नै दुर्गम जिल्लाका स्थानीय तहमा पदस्थापन गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिएका थिए । 

मन्त्रीका स्वकीय सचिव आलमले बढुवा भएका शाखा अधिकृतबाट आकर्षक ठाउँमा पदस्थापन गराउन सोर्सफोर्स आएको थियो । तर मन्त्रीको निर्देशनमा  सबैलाई एकै पटक दुर्गमका स्थानीय तहमा पठाइएको हो । 

दुर्गममा पदस्थापन भएका नयाँ शाखा अधिकृतहरु दुर्गमका स्थानीय तहमा नगए उनीहरु सबैलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत संघीय मामिला तथा सामान्य  प्रशासन  मन्त्रालयले दिएको छ । 

source:annapurna