बजेट कार्यान्वयनका लागि सरकारलाई कांग्रेसले दबाब दिने

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने भएको छ। कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरेको हो। जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। कांग्रेसले बाह्य लगानी भित्रयाएर मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गम्भीर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ। प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको पनि बताए। बैठकले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ। संविधान र कानुनविपरीत हुने गरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने पनि प्रमुख सचेतक खाँडले बताए। सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकि जेल सजाय मिनाहा गरेको थियो। कांग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत समेत नभएको भन्दै आपत्ति जनाएको छ।

source:thahakhabar