चिनियाँ टोलीले सक्यो केरूङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन

चिनियाँ टोलीले केरूङ-काठमाडौं रेलमार्गको अध्ययन सकेको छ। गत साता रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए।

रेलवे विभागसँग समन्वय गरी उनीहरूले सीमा नाका रसुवागढीसम्म पुगेर स्थलगत अध्ययन गरेका थिए। एक साता लामो अध्ययन सकेर चिनियाँ टोली आज स्वदेश फर्कन लागेको अध्ययन टोली सहभागी विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

नेपाल र चीनका अधिकारीबीच वैशाख दोस्रो साता बेङजिङमा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।

चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो।

यो अध्ययनको सबै सबै खर्च चिनियाँ पक्षले  आफैं गरेको छ। ‘अगस्ट (भदौ १५)सम्ममा कम्पनीले अध्ययन प्रतिवेदन दिनेछ,’ उपाध्यायले भने।

संसारका जटिलमध्येको एक भएकाले यो रेलमार्गमा धेरै अध्ययन गर्नुपर्ने चिनियाँ पक्षको बुझाइ छ।

‘यो रेलमार्ग विश्वका जटिल रेलमार्गमा पर्ने भएकाले धेरै अध्ययन जरूरी हुने उहाँहरूको भनाइ छ,’ उपाध्यायले भने, ‘अगस्टमा यो अध्ययन प्रतिवेदन आएपछि सम्भाव्यता अध्ययनको प्रक्रिया सुरू हुन्छ।’

चिनियाँ पक्षले यसअघि पनि यो रेलमार्गको अध्ययन गरेको थियो। त्यसको प्रतिवेदन विभागले पाएको छ।

गत कात्तिक तेस्रो साता चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन स्थलगत अध्ययन गरेको थियो।

source:setopati