मन्त्रिपरिषद विस्तार : पोखरेल र यादव उपप्रधानमन्त्री, बाँस्काेटाको बढुवा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आवद्ध छन् । 

 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालेका थिए।
 
यससँगै ओली सरकारमा दुईजना उपप्रधानमन्त्री हुने भएका छन् । यसअघि नेकपाबाट रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
 
यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए भने राई श्रममन्त्री भएका थिए। गएको चुनावमा यादव सप्तरी–२ र राई बाँके– २ बाट निर्वाचित भएका थिए। नेकपासँग सोमबार दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको हो।
 
चौथो पटक विस्तार भएसँगै केपी ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ। फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका ओलीले फागुन १४ र चैत २ गते सरकार विस्तार गरेका थिए। फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली छाडिएको थियो। फोरम सरकारमा आएसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई राज्यमन्त्रीकै जिम्मेवारी दिइएको छ भने सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ ।
source:kantipur