कतारमाथि नाकाबन्दीको एक वर्ष, कमजोर भएका छैनौं : कतार

काठमाडौँ — कतारमाथि स्थल सीमा जोडिएको छिमेकी साउदी अरेबियासहित चार मित्र मुलुकले नाकाबन्दी लगाएको एक बर्ष पुगेको छ । साउदी अरेबियाका राजा कतारकै भूमिका रमाइरहेको अवस्थामा सीमा जोडिएको साउदी अरेबिया र नजिकका इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई)ले त्यहाँ नाका बन्दी लगाएका थिए ।

 

नाकाबन्दी अहिले पनि जारी छ। नाकाबन्दीले प्रत्यक्ष असर त्यहाँ बस्ने नागरिकलाई पर्दछ। अहिले त्यँही अवस्था भोग्न बाध्य छन् कतारबासीहरु। कतारमा नेपाली कामदार पनि छन्।
 
गत वर्षको जुन ५ मा कतारलाई ती चार मुलुकले नाकाबन्दी लगाएको घोषणा गरेका थिए। नाकाबन्दीले धेरै विषय सिक्ने मौका मिलेको कतारीहरुले बताउँदै आएका छन। ‘बितेको एक वर्षमा कतारले आफूलाई अझ बलियो, शसक्त र परिष्कृत पार्न सकेको छ,’ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अरहैलले कान्तिपुरसँग भने, ‘नाकाबन्दीले मानिसको बाँच्न पाउने अधिकार त कुण्ठित गर्‍यो। यससँगै नागरिकले स्वतन्त्र घुम्ने र आफन्त भेट्न पाउने अधिकार समेत कुण्ठित गरेको छ। यो विषय राष्ट्रसंघमा पनि उठेको छ। तर राष्ट्रसंघको सुनुवाईलाई सदस्य मुलुकले बेवास्ता गरेका छन्।’ कतारले गरेको प्रगतिप्रति छिमेकको डाहको रुपमा यस्तो नाकाबन्दी लागेको धारणा कतारको रहेको छ।
 
‘एअर स्पेस’ नै नपाएको कारण कतारले आफ्नो उडान लम्बिएको मात्र छैन पहिले झै सहज उडानमा ठूलै धक्का लागेको छ, उनले भने। ठूला पानीजहाज आफ्नो क्षेत्रमा ल्याउन समेत समस्यामा परेको भए पनि यसमा नयाँ विकल्पहरु खोजेर कतारले आफूलाई बलियो बनाउदै लगेको जनाएको छ। एक वर्षदेखि जारी नाकाबन्दी गैर कानुनी र अमानवीय छ नै त्यसबाहेक कतारलाई दोषी ठहर गर्नकै लागि कतारको न्युज एजेन्सीको बेवसाइट नै ह्याक गरेर मानवीयताको न्यूनतम धर्मसमेत निर्वाह नगरेको कतारी राजदूतले बताए।
 
राजनीतिक विषय भन्दै नाकाबन्दी लगाए पनि नागरिकको सामान्य बाँच्न पाउने अधिकार नै कुण्ठित गर्न खोजेको भन्दै कतारले विश्वभर कूटनीतिक लविङ गर्‍यो। ती मुलुकको आश्वासन पायो तर साउदीअरबलाई त्यसले छोएन। नाकाबन्दीको विषयले संयुक्त राष्ट्रसंघको महासम्मेलनमा प्रवेश पाएर छलफल भयो तर पनि साउदी टसमस भएको छैन। कतार वार्तामा बस्न तयार तर साउदीले बेवास्ता गरेको कतारी धारणा रहेको भन्दै राजदूत युसुफले भने, ‘नाकाबन्दीले व्यक्तिको धार्मिक अधिकार हनन भएको छ। आफन्त भेटघाटमा समेत समस्या परेको छ। हाम्रो आफन्तहरु युएई, साउदी बहराइन, कुवेत लगायतमा छन्। एक आपसमा भेट्न पाइएको छैन।’
 
साउदी अरबका मक्का मदिनामा समेत जान नपाएको अवस्थाबारेमा समेत अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराएका छन्। उनीहरुले धार्मिक अधिकारबाट बन्देज लगाउने काम मानवता विरुद्धकै अपराध रहेको ठहर कतारीहरुको छ। ‘मानिसलाई मात्र होइन साउदी अरेबियामा पालिएका हजारौ जनावरलाई समेत उनीहरुले विना रेखदेख सीमा कटाइदिएका थिए,’ राजदूतले भने, ‘कति जनावर मरेर सम्पत्तिवीहिन भएका छन्।’ उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुल्लाह थानीले मानव जातीले आवतजावत गर्न नपाउनु र कतार एयरवेजको उडान नै रद्द गरेर आकाशमा समेत उड्न बन्द गरिनु मानवता विरुद्धकै अपराध भएको बताएको राजदूतले सुनाउदै भने, ‘यसकै जगमा हामी झन् बलियो बन्दै अघि बढेको छ।’ कतारका नागरिकलाई बसिरहेको स्थानबाट एक्कासी देश निकाला गर्दा उनीहरु सम्पत्ति सम्बन्धि अधिकारबाट पनि बञ्चित भएको अधिकारीले बताए। कतार तथा नाकाबन्दी लगाउने देशका नागरिकहरुबीचको पारिवारिक सम्बन्ध नै समाप्त पार्ने काम भएको भन्दै यसमा विश्वको ध्यान जानआवश्यक रहेको बताए।
 
देश निकाला गर्दा उनीहरुले जीवनभर कमाएको सम्पत्ति छोडेर निस्कनुपरेको विषयलाई गम्भीर भन्दै यसमा विश्वको ध्यान जान आवश्यक रहेको पनि बताए। आफन्त भेट्न जानेलाई समेत भेट्न नदिने, पढ्न बसेका कतारी नागरिकलाई शिक्षाबाट बञ्चित गर्नेजस्ता काम भएको राजदूतले सुनाए। कतार सरकारले आफ्नो भुमिमा बस्ने कसैलाई निस्कन बाध्य नबनाएको उनको दाबी छ। उनीहरुको सम्पत्तिको सुरक्षा समेत गरिदिएको कतारी राजदूतले बताए। कतारले कसैलाई कतार नआउन भनेको छैन बरु नाकाबन्दी लाद्ने देशहरुले नै एकतर्फी रुपमा सबै सम्बन्ध तोडेका हुन्। खाद्यवस्तु मात्र नभएर औषधिको समेत निर्यात बन्द गरेर कतारको मनोबल गिराउने प्रयास गरेको भन्दै त्यसमा कतार सचेत रहदै आफूलाई झन शसक्त पारिहरको बताए।
 
नाकाबन्दीपछि कतारको मानव अधिकार समितिसंग न्याय माग गरिरहेका हजारौ मुद्दाहरु छन्। नाकाबन्दी लगाउने चार मुलुकमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार प्रभावित भएका छन्। ती मध्ये १९ सय ५४ मुद्दा काम गर्न पाउने अधिकारँंग सम्बन्धित छन्। ७ सय ६ मुद्दा शिक्षासँग सम्वन्धित छ। त्यस्तै ६ हजार ४ सय ७४ वटा मुद्दा पारिवारिक मेलमिलाप विरुद्ध रहेको तथ्यांक मानव अधिकार संगठन, कतारसँग छ। प्रेस स्वतन्त्रताको अधिकार पनि नाकाबन्दीले खोसेको निश्कर्ष कतारको छ।
 
कतार सरकारद्वारा संचालित सबै संचारमाध्यममा अनावश्यक अंकुश लगाउने काम भएको भन्दै नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता समेत हनन गर्न खोजिएको कतारी धारणा छ। यी सबै विषयमा अडेर कतारभित्र दर्ता भएका मुद्दाहरु अन्तराष्ट्रिय स्तरमा पुर्‍याइएको छ। राष्ट्रसंघीय मानवअधिकार विशेषज्ञ अल्फ्रेड डे जायर्सले यो आधारभुत मानवअधिकार सम्बन्धि अन्तराष्ट्रिय कानुनको विरुद्धमा देखिएको जनाएको कतारले बताए।
 
नाकाबन्दी लगाउने मुुलुकहरुले राष्ट्रसंघीय परिषद्मा यसको कारण नै पेश गर्न नसकेपछि परिषद्ले नाकाबन्दी गैरकानुनी भएको घोषणा गर्नुका साथै कानुनको पालना गर्न सुझाव दिएका थिए। त्यसको सुनुवाई साउदी लगायत मुलुकले गरेन। नाकाबन्दीले कतार कमजोर होइन आत्मनिर्भर बलियो बन्दै गएको राजदूतले युसुफले स्पष्ट पार्दै भने, ‘हामीले कृषि उद्योग, पशुपालन, अन्य साना उद्योग लगायत एक वर्षमा दुई सय बढि ठूला र करिब पाँच सय साना उद्योग संचालनमा ल्याएका छौं। नेपाल जस्ता मुलुकसँग सहकार्यको पहल पनि भइरहेको छ।’
 
कतारमा नेपालीलाई अवसर लगातार
कतारमा रोजगारीका लागि जाने नेपालीले सन् २०३० सम्म काम गर्न सक्नेछन्। पछिल्लो समय २०२० पछि नेपाली श्रमिकको भविष्य कस्तो हुनेछ भन्नेहरुका लागि भने कतारले २०३० सम्म नेपाली नागरीकलाई रोजगार दिने र नयाँ रोजगार श्रृजना गर्ने कतार सरकारले स्पष्ट पारिसकेको छ। त्यसपछि पनि यो अवसर आइरहने बताएको छ। कतारको विकासमा नेपालीको पसिना परेको छ। हामीले नेपाललाई यो गुन तिर्नेछौ, राजदूत युसुफले भने, ‘नेपालमा स्थायी सरकार बनेको छ। अव लगानीका योजनाहरु पक्कै बन्नेछन्। सम्झौता हुनेछन्।’ खाडीको यो समस्यामा नेपाल स्वतन्त्र बस्नुपर्ने कारण समेत बुझेको कतारले नेपालको वर्तमान धारणाप्रति कतारले खुशी ब्यक्त गरेको छ।
 
नाकाबन्दीपछि केही समय नेपाली कामदारको कतार प्रवेश घटेपनि अहिले पुरानै अवस्थामा पुग्न लागेको राजदूतले बताए। उनले नेपालबाट पछिल्लो समय कामदारको संख्या बढ्दै गएको र सकेसम्म कतारीहरुसँग नै सहकार्य गरेर कामदार पठाउन नेपालका म्यानपावर एजेन्सीलाई सुझाव समेत दिएका छन्। नेपालबाट जानेहरु तेस्रो पक्षसँग जाने र काम फरक पर्ने गरेकोमा यसबारे नेपालसरकारलाई जानकारी गराइएको र यसमा सुधार भइरहेको उनले स्पष्ट पारे। स्वास्थ्य परीक्षण, प्रशिक्षणको लागि पनि छुट्टै पहल हुने भएको छ।
 
कतार र अन्य मुलुकको लविङ
खाडी मुलुकबीच उत्पन्न खिचातानीको प्रभाव विश्वभर परेको छ। नाकाबन्दी लगाएको मुलुक र लागेको मुलुकले विश्वमा रहेका विभिन्न मुलुकका साथ र समर्थन खोजिरहेका छन्। कतारले मित्र मुलुकहरूलाई आफ्नो पक्षमा पार्ने र कतार माथि नाकाबन्दी लगाएका मुलुकले कतारलाई एक्ल्याउने कूटनीतिक लबिइङ थालेपछि त्यसको बाछिटा नेपालसम्म आइपुगेको थियो।
 
अमेरिका स्वयं संलग्न हुँदा पनि समाधान हुन नसकेको उक्त समस्या नेपालभित्र पनि बहस निम्त्याइएको थियो। यसको प्रमुख कारण हो खाडीमा सबै मुलुकमा नेपालीहरु कार्यरत रहनु नै प्रमुख थियो। खाडीका राजपरिवार एकआपसमा नातेदारसमेत रहेकाले उनीहरूबीचको ‘इगो’ ले अहिले त्यस क्षेत्रमा जनतामात्र होइन, त्यहाँ आफ्ना नागरिक रहेका अधिकांश मुलुककमा नाकाबन्दीको पिरलो थियो। साउदी अरब र यूएईको राजपरिवारभित्रको आन्तरिक राजनीति मिलाउन पनि यस्तो ‘इस्यु’ बाहिर आएको भनिए पनि लामो समय गएकाले त्यो कतार माथिको डाह नै भएको बताउन थालिएको छ।
 
अमेरिकाको पहल र कुवेतको मध्यस्थता समेत बेकामे भएपछि समस्या लम्बिएको हो। कतारको टर्की र इरानसँगको सम्बन्ध, सहकार्यका साथै अलजजिरा टेलिभिजन नै अहिले प्रमुख विषय बनाउदै आएपनि ति आरोपलाई कतारले खण्डन गर्दै आएको छ।
 
केही गल्ती भए माफ माग्न समेत कतार रहेको राजदूत युसुफले बताए। कतारले सन् २०२२ मा विश्वकप खेलाउने पक्षमा सफल कूटनीति अवलम्बन त गर्‍यो तर, उसले त्यसपछि आफूमाथि आइलाग्न सक्ने विभिन्न समस्यालाई ध्यान नदिएकै कारण पनि यो समस्यामा परिरहेको धारणा छ। विश्वकपका कारण पश्चिमासँग सम्बन्ध सुमधुर बनाउन नसकेको कतार अलजजिराका कारण खाडीकै शून्य बाहुल्य मुलुकसँग पनि सुमधुर रहेको छैन तर यसलाई कतारल आफूले गरेकै पैरवीमा डाह। विदेशी कामदारमाथिको व्यवहारलाई लिएर पश्चिमा सञ्चारमाध्यममा कतारको आलोचना हुँदै आएको छ।
source:kantipur