नेपालमा बिरुवा रोपेर मरुभूमीमा अक्सिजन पठाउनुपर्छ : प्रधानमन्त्री ओली

विश्व वातावरण दिवस’ मंगलबार विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने नाराका साथ वातावरणसँग सम्बन्धित विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले यहाँ बिरुवा रोपेर मरुभूमीमा अक्सिजन पठाउनुपर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुरानो भवन अगाडि ओलीले वृक्षारोपणपछि यस्तो बताएका हुन् ।


हरेक व्यक्तिले कम्तिमा पनि एउटा फलफुल रोप्नुपर्नेमा उनले जोड दिए । ‘प्रत्येक व्यक्तिले एउटा विरुवा रोप्ने भन्नुको तात्पर्य एउटा मात्र रोप्नु होइन, कम्तिमा एउटा रोप्नु हो’ उनले भने, ‘अझ बिरुवामा पनि फलफुलको विरुवा रोपेमा बढी प्रभावकारी हुन्छ ।’

उनले फलफुलको बिरुवा रोप्दा फल उपभोग गर्न पनि सकिने वा फल चराचुरुङगी तथा किराफट्याङ्ग्रालाई समेत हुने भएकाले उनले फलफुल रोप्न आग्रह गरे । यसबाट वातावरण पनि हराभरा हुने र पछि आम्दानी पनि गर्न सकिने उनको भनाई छ ।

विभिन्न मन्त्रीहरुले पनि कार्यालय अगाडि विरुवा रोपेर वातावरण दिवस मनाएका छन् । सँगै नेपाल आर्मी, नेपाल प्रहरी, मन्त्रालयका पदाधिकारी लगायतले पनि संयुक्त रुपमा सिंहदरबार भित्र कार्यालय अगाडि वृक्षारोपण गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।

source:enayapatrika