यस्तो छ ट्रम्प-किम भेट्ने सिंगापुरको लक्जरी होटल (फोटो फिचर)

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १२ जुनमा सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई भेट्न आउँदैछन् । यो भेटवार्ता नेपाली समय अनुसार बिहान ६ बजेर ४५ मिनेटमा हुनेछ । व्हाइट हाउसका अनुसार सिंगापुरको सेन्टोसा द्वीपमा रहेको द क्यापेला होटल नामको लग्जरी रिसोर्टमा दुवै नेताबीच भेट हुँदैछ । 

यो होटल सन् २००९ मा खुलेको हो । यसको डिजाइन आर्किटेक्चर्ल फर्म फोस्टर र पार्टनरले सं‌युक्तरुपमा डिपी आर्किटेक्ट्ससँग मिलेर गरेका हुन् । व्हाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सका अनुसार अमेरिकी राष्ट्रपति र किम जोङ्ग उनबीचको शिखर वार्ता स्थान सेन्टोसा द्वीपमा रहेको द क्यापेला होटल हुनेछ । 

 

उता ट्रम्पले उत्तर कोरिया शिखर वार्ताको तयारी राम्रो भइरहेको बताउँदै सम्बन्ध धेरै हदसम्म राम्रो भइसकेको उल्लेख गरेका छन् । समाचार अनुसार दुई नेताको भेटको समाचार सं‌कलनका लागि विश्वभरबाट करिब २५ सय पत्रकार सिंगापुर पुग्दैछन् । 

 

उता अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले सिंगापुरका आफ्ना समकक्षीसँग भेटेर अन्य मुद्दाका साथै उत्तर कोरियासँगको शिखर वार्ताबारे पनि कुरा गरेका छन् । विदेश विभागकी प्रवक्ता हिथर नोर्टले सिंगापुरमा उत्तर कोरियाली प्रतिनिधिमण्डलको बसाई खर्च अमेरिकाले नतिर्ने बताएकी छन् । 

यसअघि उत्तर कोरियासँग पैसाको अभाव हुँदा अमेरिकाले पैसाको व्यवस्थाका लागि अन्य देशसँग आग्रह गरेको थियो । कडा आर्थिक प्रतिबन्ध झेलिरहेको कोरियाली टोलीको खर्च सिंगापुरले नै तिर्ने सम्भावना पनि छ । 

source:annapurna